०३ साउन २०८३, आइतबार

पटक्कै नमिल्ने विचारधारा अनि फरक लक्ष्य, इजरायलको नयाँ गठबन्धन सरकारमा समस्यै समस्या

असार ३, २०७८
पटक्कै नमिल्ने विचारधारा अनि फरक लक्ष्य, इजरायलको नयाँ गठबन्धन सरकारमा समस्यै समस्या

इजरायलमा उदारवादी र चरम अनुदारवादीहरू मिलेर बनेको गठबन्धन सरकारले संसदमा आवश्यक बहुमत त जुटाएको छ । 

तर बेनेट–लापिड सरकार टिकिरहनका लागि धेरैथरी बाधा अवरोधको सामना गर्नुपर्ने देखिन्छ । इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व, तेस्रोलिंगीहरूका विषयमा दृष्टिकोण, इस्लामिक पार्टी रामलाई अर्बौं डलर उपलब्ध गराउने लगायतका विषयहरू छन् । 

मंगलवार मात्र इजरायलका नयाँ प्रधानमन्त्री नफ्टाली बेनेटले पहिलो चुनौती सामना गरे । 
 

अनुदारवादीहरूलाई जेरुसेलममा विवादास्पद झण्डा जुलुस गर्न दिएपछि हजारौं यहुदीहरू शहरका मुसलमान टोल लगायत जताततै घुमे । 

त्यसपछि गाजा स्ट्रिपलाई नियन्त्रण गर्ने हमासले इजरायलतर्फ दर्जनौं बेलूनमा विस्फोटक पदार्थ राखेर पठायो । त्यसले गर्दा दक्षिण इजरायलमा २६ ठाउँमा आगो लाग्यो । 

त्यसको जवाफी कारवाहीका लागि बेनेटले अनुमति दिएपछि इजरायल डिफेन्स फोर्सेसले गाजाका विभिन्न स्थानमा हवाई आक्रमण गरेको थियो । 

उनका गठबन्धन सहयोगी दलहरूले त्यसलाई पचाए । तर यस्तो स्थिति सधैं नरहने विश्लेषकहरूले बताएका छन् । 
 

बेनेटले गठबन्धनको स्थिरताका बारेमा चिन्ता लिने विभिन्न कारण छन् । अहिलेको सरकार आठवटा दल मिलेर बनेको हो । तीमध्ये कम्तीमा दुई वामपन्थी मेरेत्ज र अरबहरूको पार्टी रामले बेनेटको यामिना पार्टीसँग इजरायल प्यालेस्टाइन द्वन्द्व लगायत सुरक्षाका धेरै विषयमा मतभेद राख्ने गरेका छन् । 
 

प्यालेस्टाइनीहरूसँग जेरुसेलम साझा गर्ने विषयमा आपत्ति जनाउने वा पश्चिम किनारामा यहुदीहरूको बस्ती बसाउने विषयको समर्थन गर्ने बेनेटले इजरायली कारवाहीलाई आक्रामक भन्ने मेरेत्ज र रामसँग सम्झौता गर्नुपर्ने हुन्छ । 

तर उदारवादी वामपन्थी तथा अरब पार्टीहरूसँगको विमति सुरक्षा विषयमा मात्र केन्द्रित रहने छैन । तेस्रोलिंगीको अधिकार, इजरायलको राजनीतिक मामिलामा न्यायपालिकाले गर्ने हस्तक्षेप तथा धर्म र राज्यका विषयमा गठबन्धन साझेदारहरू सहमत हुन गाह्रो छ । 

अनि राज्यकोषको रकम वितरण पनि अर्को तनावको विषय बन्न सक्छ । गठबन्धन बनाउने सम्झौता अन्तर्गत इस्लामिक पार्टी रामले पाँच वर्षको अवधिमा लगभग १३ अर्ब रुपैयाँ पाउनेछ । 

यस रकमले अरब समुदायका गम्भीर समस्यालाई समाधान गर्ने अपेक्षा छ । बढ्दो हिंसा, लागूऔषध तथा अवैध हतियार वितरण लगायतका समस्या अरब समुदायमा छन् । अनि अरबहरूमा बेरोजगारीको उच्च दर, गरीबी तथा इजरायली समाजमा घुलमिल हुन भएको समस्यालाई पनि सम्बोधन गर्नुपर्नेछ । 

तर रामले यो अत्यावश्यक रकम नपाउने सम्भावना छ । इजरायलको बजेट घाटा सन् २०२१ को आरम्भमा ५०.४ अर्ब डलर थियो । देशकै इतिहासमा यो सबभन्दा ठूलो घाटा हो । 

इजरायलले सुरक्षा र नवप्रवर्तनमा रकम लगानी गर्न खोजेकोले मात्र यो समस्या आएको हैन ।

राजनीतिक दलहरूले शक्तिको उपयोग गरी रकम हात पार्ने र समग्र इजरायली समाजलाई भन्दा पनि केही निश्चित समूहलाई स्वार्थसिद्ध गर्न मौका दिने गरेकाले जनतामा पार्टीहरूप्रति निराशा छ । 

केही अघिसम्म उग्रपरम्परावादी दलहरूले अर्बौं डलर पाउने गरेका थिए र त्यसलाई उनीहरूले धार्मिक संस्थामा लगानी गर्ने गरेका थिए । यसले गर्दा आमजनतामा निराशाको स्थिति छ । 

अहिले तिनीहरू विपक्षमा पुगेकाले उनीहरूको प्रभाव सीमित हुनेछ । तर रामले लगानीका लागि मुख बाएर बसिरहेकाले त्यो रकम उसैले लग्ने चिन्ता छ । 

त्यसैले बेनेट दोधारको स्थितिमा छन् । उनी र प्रधानमन्त्री बन्न तयार रहेका याइर लापिडले रामलाई दिएको वचन पूरा गर्न खोज्नेछन् । तर उत्तिखेरै उनीहरू इजरायली जनतालाई चिढ्याउन पनि चाहँदैनन् । 

जनताले नयाँ सरकारको कामलाई नजिकैबाट नियालिरहेको छ । नेतान्याहुको १२ वर्षे लामो शासनलाई अन्त्य गर्ने गठबन्धनलाई जनताले अँगालेको भए पनि नयाँ सरकारले लिएका कतिपय निर्णयलाई जनताले आलोचना गरिसकेका छन् । 

भ्रष्टाचारको आरोप लागेका एभिग्दोर लिबरम्यानलाई अर्थमन्त्री बनाइएपछि आलोचना भएको छ । उनी इजरायल बेतेनु दलका अध्यक्ष हुन् । 

त्यसमाथि नयाँ सरकारमा अत्यधिक धेरै मन्त्रीहरू छन् । विगतमा नेतान्याहुले ३४ मन्त्री र अन्य राज्यमन्त्री नियुक्त गर्दा लापिडले आपत्ति जनाएका थिए । आफू सत्तामा आएपछि मन्त्रीको संख्या १८ मा सीमित गर्ने उनले बताएका थिए । 

बेनेट–लापिड सरकारले २८ जनालाई मन्त्री बनाएको छ र इजरायली जनताले आफूलाई धोका दिइएको अनुभव गरेका छन् । यत्ति धेरै मन्त्रीहरूले करदाताको लाखौं डलर खर्च गरेर सही काम गरिरहेको स्पष्ट प्रमाण दिनुपर्नेछ । 

अनि सरकारले परिवर्तन ल्याउने भनी प्रतिज्ञा गरेकोमा त्यो पूरा गरेको प्रमाण पनि सरकारले जनतालाई दिनुपर्नेछ ।
 

आरटीमा प्रकाशित एलिजाबेथ ब्लेडको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्