२२ जेठ २०८३, शुक्रबार

सरकारको आलोचना गर्नेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

सरकारको आलोचना गर्नेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरूले कुप्रचार गरेको आरोप लगाएका हुन् ।

त्यसको प्रतिवादमा उत्रिनका लागि मन्त्रीहरूलाई निर्देशन छ । विरोधीहरू आक्रमक ढंगले प्रस्तुत भएको भन्दै उनले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गरे ।

उनले भने– ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धिहरूको डिफेन्ड गर्न अनुरोध छ ।’

प्रधानमन्त्री ओलीले विपक्षीहरूले आलोचनामा यत्रो समय कटाए पनि सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको टिप्पणी पनि गरे ।

उनले यस वर्ष अघिल्ला वर्षहरूमा जस्तो तराइ डुबानमा नपर्ने पनि बताए ।

नेपाल-भारत सीमा क्षेत्रमा लगाएको बाँध पहिले खुला नछोडिने गरेका कारण डुबान भएको भन्दै उनले यसवर्ष बाँधलाई खोलिएको बताए । अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिँदै जाने उनको भनाइ थियो ।

बाँधका कारण नेपाली भुमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

उनले भने– ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो । सीमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भुमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको स्पष्ट पार्नुभयो । सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उनले बताए ।

उनले भने– ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदि निकाल्ने काम रोक्ने, खानी पत्ता लगाउने, त्यो खानी उपयुक्त छ कि छैन वातावरणीय सर्भे गर्ने अनि मात्रै खानीबाट गिट्टीबालुवा निकाल्ने ।'

प्रधानमन्त्री ओलीले थपे- 'बढी भयो भने त हामीले बिक्री पनि गर्न सक्छौँ भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनाश होइन, चुरेको संरक्षण गर्न लागि पर्याछौँ । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लाग्या छौँ ।’

उनले अहिले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौसम्म नयाँ बाटो खन्ने तथा पहाडहरू भत्काउने काम रोक्नुपर्ने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्