
अविरल वर्षातले पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको ‘जुडीफाँट–चित्रेभञ्ज्याङ सडक’ अवरुद्ध भएको छ ।
तीन दिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।
धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिइन् ।
“कतै ग्याबिनझालि सहित बाटो खसेको छ । कही बाटो माथिबाट ठूला–ठूला पहिरो खसेका छन्,” उनले भनिन् ।
अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानीयबासी चिसापानीबाट राइपुर हुँदै घण्टौँ लगाएर यात्रा गर्न बाध्य हुनुपरेको छ ।
शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागि स्तरोन्नति भइरहेको थियो ।
सडक फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । पहिरो गएसँगै काम रोकिएको छ ।
सो गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उद्देश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भईरहेको छ ।
रु ३२ करोड ६५ लाख ४७ हजार एक सय ४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ । पुलमा क्षति नपुर्याएको जनाइएको छ ।
अवरुद्ध सडकलाई खुलाउन शुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाइजर रामबहादुर गोलेले बताए ।
“पहिरो हटाउन शुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितिमा ल्याउन मात्रै पनि कम्तीमा तीन/चार दिन लाग्छ,” उनले भने ।