कूर्ममहापुराणको नेपाली अनुवादमा के छ ?

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

कूर्ममहापुराणको नेपाली अनुवाद प्रकाशमा आएको छ । यसलाई डा. बद्रीप्रसाद पोखरेलले अनुवाद गरेका हुन् ।

तोयनारायण पन्थद्वारा प्रकाशित यस पुस्तकको बिक्री वितरणको काम उद्धवकुमार घिमिरे, विश्व स्वतन्त्र सञ्चार काठमाडौंबाट हुँदै आएको छ । यद्यपि अनुवाद अध्यायगत सारांश भएकाले यसैबाट पुराणको समग्र रहस्य बोध गर्न सकिन्छ, सकिन्न यसै भन्न सकिन्न ।


Advertisement

समग्र जानकारीका लागि मूलग्रन्थकै अध्ययन आवश्यक हुन पुग्यो भने त्यो पनि अस्वाभाविक होइन । तथापि पुराणको स्वरूप, विशेषता र विषयवस्तुको बोध गर्ने कार्यमा भने मनग्यै सहयोग पुग्न सक्ने देखिन्छ । 

अनुवादक डा. बद्री पोखरेलले क्रमशः महापुराणहरूको अध्यायगत सारांश लेखी प्रकाशित गराउँदै आएका छन् । उनले यसअघि नै अधिकांश महापुराणका अध्यायगत सारांश लेखी प्रकाशित गराइसकेका छन् । प्रस्तुत अनुवाद पनि त्यसैको एउटा क्रम हो । बाँकी पनि प्रकाशनको चरणमा रहेको बुझिएको छ । 

महापुराणहरूका संख्या १८ वटा रहेका छन् । तिनमा कूर्ममहापुराणको स्थान पन्ध्रौं नम्बरमा पर्छ । यसको अर्थ महत्त्वको हिसाबले पन्ध्रौं नम्बरमा पर्छ भन्ने होइन । गणना र विषयवस्तुका हिसाबले मात्र सो स्थान निर्धारण गरिएको हो । कसारको कुन बोक्रा कुन गुदी भने जस्तो महापुराणहरू भगवान्का अंग बिग्रह मानिएकाले सबै आ–आफ्ना स्थानमा उत्तिकै महत्त्वका छन् । 

भगवान् विष्णुका अनन्त अवतार छन् । तिनमा १० अवतारलाई मुख्य अवतार भनिएको छ । तिनै १० अवतारमध्ये कूर्म अवतार पनि एउटा हो । १० अवतारमा यसको स्थान दोस्रो नम्बरमा पर्छ । विष्णुले कूर्म अवतार लिएर समुद्र मन्थनमा सहयोग गरेका थिए, जसका कारण देवताहरू अमृत पान गरी अजर र अमर हुन सकेका हुन् ।

यतिबेला उनले देवताहरूका जिज्ञासा शान्त गर्न जुन सन्देश वा शिक्षा दिएका थिए, त्यही नै कूर्ममहापुराणका विषयवस्तु हुन् र यसैका आधारमा पुराणको नाम कूर्ममहापुराण रहेको हो ।  

मूलतः कूर्ममहापुराणको ब्राह्मी, भागवती, सौरी र वैष्णवी गरी ४ संहिता रहेका छन्, जसको श्लोक संख्या १८ हजार रहेको मानिएको छ तर हाल उपलब्ध कूर्ममहापुराणमा ब्राह्मी संहिता मात्र फेला परेको छ । श्लोक संख्या केबल ६ हजार रहेको यस संहिताको पूर्व र उत्तर गरी २ भाग छन् । यसमध्ये पूर्वभागमा ५३ अध्याय र उत्तर भागमा ४६ अध्याय गरी कूल ९९ अध्याय रहेका छन् । 

नैमिषारण्य क्षेत्रबाट भएको कथाको उठान त्यहीँ नै समापन भएको छ । अन्य पुराणहरू जस्तै यसका पनि वक्ता रोमहर्षण सूत र श्रोता शौनकादि मुनिहरू रहेका छन् । 

कूर्ममहापुराण खासगरी वैष्णव पुराण हो तर अन्य सम्प्रदायका पनि अथावसर उत्तिकै महत्त्वका साथ चर्चा भएका छन् । वैदिक सनातनधर्मी माझ विद्यमान शैव, शाक्त र वैष्णव आदि सबै सम्प्रदायका बेजोड संगमका रूपमा रहेको यस महापुराणको स्थान साम्दायिक सद्भाव र सहिष्णुताको क्षेत्रमा पनि उत्तिकै मजबुत रहेको छ । यसले त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेश्वरबीच जुन किसिमको एकता प्रस्तुत गरेको छ, त्यो निश्चय नै स्तुत्य छ । खासगरी महापुराणमा सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर र वंशानुचरित गरी ५ विषय मुख्य रहेका हुन्छन्, जुन यस पुराणमा पनि पूरापूरा चर्चा भएको पाइन्छ । 

वैष्णव सम्प्रदायमा जगतको आधार लक्ष्मी र नारायण मानिएका छन् । यस अनुुसार विष्णु भनेका ब्रह्म हुन्, जसले जगत सृष्टि गर्ने काम गर्छन् । लक्ष्मी भनेको उनको माया शक्ति हो, जसको आधारमा संसार टिकेको छ । कूर्म महापुराणको विषयवस्तुलाई यसैभित्र राखेर हेर्नुपर्ने हुन्छ ।

ब्रह्म भनेको के हो, माया भनेको के हो, ब्रह्मले के–कस्तो तत्वको सहयोग लिएर सृष्टि गर्छन् र माया शक्तिले कसरी तिनको व्यवस्थापन र सञ्चालन गर्छ भन्ने कुरालाई यस पुराणको पूर्वभागले राम्ररी सम्झाउने प्रयास भएको छ । 

योग, ध्यान, लिङ्गोपासना, शिवपार्वतीको प्रसङ्ग, सती चरित्र, दक्ष यज्ञ विनाश, वराह अवतारको कथा, उनले गरेको पृथ्वीको उद्धार, वर्ण तथा आश्रम धर्मको विवेचन, विश्वेदेव तथा मरुद्गणको उत्पत्ति, विष्णुको वामनावतारको कथा, सूर्य तथा चन्द्रवंशका विस्तार, अनुसूयाको वंश, यदु वंशको व्याख्यान तथा यही वंशमा अवतरित भएका भगवान् कृष्णका लीला, सात द्वीप, सात समुद्र तथा भुवनकोष वर्णन, चार युगको विशेषता तथा युगधर्म निरुपण आदि यस भागका केही थप विशेषता हुन् । 

उत्तर भागमा मुख्यरूपले ईश्वर गीता, व्यास गीता, तीर्थहरूका विशेषता, प्रायश्चित्त वर्णन, नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक गरी ४ किसिमका प्रलयबारे प्रकाश पार्ने काम भएका छन् । 

पुराणहरू संस्कृत भाषामा लेखिकाले संस्कृतेतर भाषाभाषीहरूका पहुँच बाहिर रहेका पक्कै हुन् । यसै कठिनाइलाई मनन गरी नेपालीमा अनुवाद गरी प्रकाशित गराउँदै जाने अनुवादकको सोचलाई प्रशंसनीय नै भन्नुपर्छ ।

अनुवादक पोखरेल अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । उनले अवकाश प्राप्त जीवनलाई यस पुनीत कार्यमा लगाएर समाजलाई ठूलो गुन लगाएका छन् । यस अर्थमा उनको अभियान सार्थक मात्र होइन, सराहनीय समेत हुन पुगेको छ । आशा गरौं, बाँकी पुराणहरू पनि चाँडै नै प्रकाशित हुनेछ र समाजले लाभान्वित हुने अवसर पाउने छ ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्