०७ असार २०८३, आइतबार
राजनीतिक सेवक

सादगी वडाध्यक्ष ‘माइला बा’

असार ५, २०७८
सादगी वडाध्यक्ष ‘माइला बा’

जीवनको उत्तराद्र्धको समय । झण्डै ८० दशकमा दौडिरहेको उनको पातलो शरीर । सेतै फुलेको कपालमाथि प्रायः लगाउने भादगाउँले टोपी ।

उनीसँग कुराकानी गर्दा जोशिलो आवाज प्रस्टसँग सुनिन्छ । उनी हुन्, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का वडाध्यक्ष भीमसेन कर्मचार्य ।

भैरहवाको ४५ डिग्रीसम्मको तातो गर्मीले भीमसेनको शरीर पाके पनि जनताको सेवामा उनी कत्ति पनि थाकेका छैनन् । जनकपथमा उनको एउटा सामान्य घर छ ।

उनी बिहान ८ बजेदेखि राति ८ बजेसम्म साइकलमै वडावासीको सेवामा खटिन्छन् । उनको अनुहार हेर्दा निष्ठाको राजनीति छचल्किन्छ । सेवा भावना नै उनको परिचय बनेको छ । त्यहीँ भएर उनले जहिले पनि चुनाव जितिरहे । 

सादगी जीवनका कर्मचार्यले आफ्ना वडावासी सबै मतदाता चिन्छन् । उनले २०५० सालमा पनि त्यहीँ वडामा चुनाव जिते । २०५४ सालमा पनि वडाध्यक्षमा चुनाव जिते र फेरि २०७४ सालको स्थानीय तहको चुनाव पनि जितेर ‘ह्याट्रिक’ गरे । ३ पटक नै उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष जितेका हुन् ।

कर्मचार्यले पञ्चायत, बहुदल र गणन्तन्त्रको अनुभव पनि गरेका छन् । भैरहवा राजनीतिक परिवर्तनको केन्द्र पनि हो ।   

‘मेरो वडामा ४५० घरधुरीमा २ हजार २०० मतदाता छन्,’ कर्मचार्य भन्छन्, ‘मैले सबै वडाका मतदातालाई चिन्छु । मेरो वडामा कसका छोराले घर बनायो ? कसका छोराले घरको तला थप्यो । कसको नाति जन्मियो । कसको छोरा डाक्टर, नर्स बने भन्ने समेत मलाई थाहा छ ।’

कर्मचार्य भैरहवामा बसेको ५४ वर्ष पूरा भयो । उनको वडामा सबै समुदायका मानिसको बसोबास छ । धर्म पनि फरक–फरक मान्ने वडावासीसँग सधैं उनी घुलमिल हुन्छन् । 

२००२ सालमा पर्वत जिल्लाको तत्कालीन मल्लाज गाविसमा उनको जन्म भएको हो । २०२४ सालमा (पर्वत बेनी) मल्लाजबाट बसाइँसराइँ गरी भैरहवा झरेका हुन् कर्मचार्य । कर्मचार्यका बुवा भारतको कलकत्तामा काम गर्ने, लाहुरबाट घर आउँदा भैरहवा हुँदै जानुपर्ने हुँदा दिदीभिनाजुसँग बसेर पर्वत फर्किने गरेका कारण आफूलाई भैरहवा आउन उनलाई अनुकूल भयो ।

त्यहीँ बेलादेखि उनी साइकल यात्रा गर्न थालेका हालसम्म पनि साइकलमै छन् । निम्न मध्यम वर्गीय परिवारका भीमसेनलाई भैरहवामा धेरैले ‘माइला बा’ भनेर चिन्छन् । उनी परिवारको माइला छोरा हुन् । ‘भीमसेनको नामबाट म कमै परिचित छु,’ वडाध्यक्ष भीमसेन भन्छन्, ‘कसैलाई माइला बा, कसैले माइला काका र कसैले माल्दाइ पनि भन्छन् ।’ 

राजनीतिमा निष्ठापूर्वक लागेका उनलाई कांग्रेसले सधैं वडाध्यक्षको टिकट दियो । २०५० सालमा १००, २०५४ सालमा १५० र २०७४ सालमा ५३ मतान्तरले विजयी भए उनी । उनले गत निर्वाचनमा ४४८ मत ल्याए भने उनका प्रतिद्वन्द्वीले ३९४ मत मात्र ल्याउन सके ।

स्वच्छ र निष्ठाको राजनीति गर्ने पात्रको रूपमा कर्मचार्यलाई भैरहवामा चिन्छन् तर उनी पार्टीको माथिल्लो तहमा कहिल्यै पुगेनन् । उनी अहिले पनि कांग्रेसको क्रियाशील सदस्य मात्र हुन् । 

साइकलमै वडावासीको घरघर पुगेर उनले चुनाव प्रचार गरे । चुनावमा उनले भने, ‘मलाई छानेर तपाईंहरूको सेवामा खटिने अवसर दिनुहोस् ।’

गाडी किन्न नसकेर वा फेसनको रूपमा नभई आफ्नो सन्तुष्टिका लागि साइकलमा आफ्नो जीवन दौडाइरहेको उनले बताए । ‘२०५४ सालमा किनेको साइकल छ । म त्यहीँ साइकलमा अहिलेसम्म हिँडिरहेको छु,’ उनी भन्छन् ।

नगरमा वडाध्यक्षका लागि मोटरसाइकल किन्न पटक–पटक प्रस्ताव गरिएको थियो तर उनले वडाका जनप्रतिनिधिका लागि सवारीसाधन आवश्यक नभएको मत राखे । जनप्रतिनिधि बिलासी हुनु हुँदैन भनेर मोटरसाइकल किन्ने प्रस्ताव उनकै अडानले रोकियो । 

‘सक्नेले आफ्ना गाडी चढ । मोटरसाइकल चढ । नभए मजस्तै साइकलमा हिँड । साइकलमा हिँडेर सानो भइँदैन भन्ने कुरा बैठकमा राखेपछि त्यो प्रस्ताव रोकियो,’ उनी सम्झिन्छन् ।

रूपन्देहीका प्रायः सबै स्थानीय तह अन्तर्गत वडाध्यक्षले सरकारी मोटरसाइकल चढ्छन् तर उनै कर्मचार्यको जोडबलले सिद्धार्थनगरमा मोटरसाइकल किन्ने योजना रोकियो ।

सरल, किफायती र निष्ठा भावले जनताको सेवामा लागिरहेकाले आफू जनताबाट पटक–पटक अनुमोदन भएको निष्कर्ष उनले निकालेका छन् । उनी सधैं जनताको सुखदुःखमा रहिरहे । सुखी जीवन जिउने हो, जनताको करले सम्पत्ति कमाउने होइन, इमान्दारितापूर्वक मेहनतको कमाइ र निष्ठा भए पुग्दो रहेछ भन्ने कुरा पछिल्ला २८ वर्षसम्म जनताको बीचमा रहँदा सिकेको कर्मचार्यले बताए । धनकै बिटोमा सुत्नेलाई राम्रो निद्रा पर्दैन भन्ने उनको बुझाइ छ । 

वडाका लागि विनियोजित बजेटमा देखेसम्म १ पैसा पनि दुरुपयोग हुन दिँदैनन् उनले । त्यसका लागि कर्मचारी र अन्य जनप्रतिनिधिलाई पनि जनताको करबाट संकलित पैसा जनताकै सेवामा खर्चिनुपर्छ, गलत कामको लागि प्रयोग गर्नुहुुन्न, जनताको पैसा दुरुपयोग र भ्रष्टाचार गरे पाप लाग्न भन्ने मान्यतामा रहन आग्रह गर्छन् ।

जीवनमा संघर्षसँग कहिल्यै हार नखाने उनले ४ जना परिवार पालनपोषण, हेरविचार गर्ने जिम्मेवारी बोकेका छन् । भैरहवा झरेपछि कर्मचार्य खेती किसानी गर्दै परिवार पाल्ने मेसोमा लागे । 

त्यतिले मात्र परिवारको गुजारा चलाउन अप्ठ्यारो भएपछि उनी एउटा पसलमा काम थाले । भैरहवामा रहेको पोखरा प्राइभेट कम्पनीमा काम गर्न थाले उनी । उनले काम गर्ने पसलेका साहु नेपाली कांग्रेस सर्मथक भएका कारण उनलाई पसलमा काम गर्दै राजनीति गर्ने बाटो खुल्यो । १० वर्षसम्म पोखरा प्राइभेटमा काम गरेका उनी त्यसपछि कांग्रेस नेता रामकृष्ण ताम्राकारको पसलमा काम गर्न थाले । 

ताम्राकारसँग रहेर उनले ८ वर्ष काम गरे । ताम्राकारका साथमा काम गर्दा उनलाई राजनीतिप्रति मोह झनै बढ्दै गयो । केही समय फर्निचर उद्योग पनि सञ्चालन गरे, त्यो प्रभावकारी भएन । अहिले उनको आम्दानी भन्ने त्यहीँ वडाध्यक्षको मासिक आउने तलब भत्ता मात्र हो । उनका २ छोरा र पत्नी छन् ।

जनप्रतिनिधिहरूले कर्मचार्यजस्तै साधारण जीवनशैली अपनाएमा देशको ढुकुटीबाट अर्बाैं रकममा सवारीसाधन खरिद गर्नुपर्ने थिएन ।

salt training

कमेन्ट गर्नुहोस्