
काठमाडौं, २२ जेठ — संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आफूमाथि लगाएको ताजा प्रतिबन्धलाई भर्त्सना गर्दै उत्तर कोरियाले तीव्र गतिमा आणविक हतियार निर्माण कार्य गरिरहने बताएको छ । प्रतिबन्धलाई शत्रुतापूर्ण कार्य बताउँदै विदेश मन्त्रालयका एक प्रवक्ताले यसो भनेका हुन् ।

सुरक्षा परिषद्ले सर्वसम्मतिमा शुक्रवार उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव ग्रहण गरेको थियो ।
तर उत्तर कोरियाली सरकारले प्रतिबन्धलाई ‘आण्विक शक्ति निर्माणलाई नियन्त्रण गर्ने, निःशस्त्रीकरण गर्ने र आर्थिक रूपमा अँठ्याउन खोज्ने शत्रुतापूर्ण कार्य’ बताएको छ ।
‘हामीलाई जतिसुकै प्रतिबन्ध लगाउने र दबाब दिने काम गरेपनि हामी आणविक शक्ति निर्माणको बाटोबाट पछि हट्ने छैनौं । हामी देशको सार्वभौमसत्ता जोगाउन र राष्ट्रिय अस्तित्वको अधिकार प्रयोग गर्न यी हतियारको उपयोग गर्नेछौं र अन्तिम विजयतर्फ अघि बढ्नेछौं,’ विदेश मन्त्रालयका प्रवक्ताले बताए ।
उत्तरमाथि लगाम कस्न अमेरिका र चीनले सहमति जनाएपछि प्रतिबन्ध लगाइएको हो । उत्तरले दुवै देशको यो कदमको निन्दा गरेको छ ।
आरटीबाट