
काठमाडौं, २२ जेठ– केही महिना अघि एकिकृत भएको कमल थापा नेतृत्वको राप्रपा फेरि फुटको नजिक पुगेको छ । नयाँ बन्ने सरकारमा सहभागितको विषयलाई लिएर थापाको पार्टीमा भाडभैलो भएको हो ।
प्रधानमन्त्रीका शेरबहादुर देउवा बन्ने पक्का भएपछि राप्रपाले उनलाई समर्थन गर्ने निर्णय गरेको छ । तर, सरकारमा सहभागितको विषयलाई लिएर भने राप्रपामा गम्भीर संकट देखिएको छ ।
आइतबार पार्टी नेता पशुपति शमशेर निवासमा बसेको बैठकमा समेत देउवालाई समर्थन गर्ने विषयमा विवाद भएको थियो । तर, संसदीय दलले देउवालाई समर्थन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै राप्रपामा मन्त्री बन्नेहरुको होड शुरु भएको छ ।
पार्टी अध्यक्षसमेत रहेको कमल थापाले उपप्रधानसहित पुरानै मन्त्रालयमा पाएमात्र सरकारमा सहभागी हुने भन्दै आफैं सरकारमा जाने मनसाय व्यक्त गरेका छन् तर त्यसलाई नेपाली कांग्रेस–माओवादी गठबन्धनले स्विकार नगर्ने सम्भावना देखाएपछि थापाले पार्टी सरकारमा नजाने बताएका उनी निकट स्रोतहरुको दाबी छ ।
उनले आफूविना पार्टी सरकारमा सहभागी नहुने निकटस्थहरुलाई बताउन थालेपछि केही नेताले भने विद्रोहको तयारी गरेको स्रोतको दाबी छ ।
सुनील थापा, दिपक बोहरा, राजकुमार सुव्बा , रमेश लामा, सिता लुइटेल, विराज विष्ट लगायका नेताले भने थापाविनै सरकारको नेतृत्वमा जाने पक्ष लिएका छन् ।
यो समूहले सकेसम्म थापालाई मनाउने र नमानेको खण्डमा पार्टी विभाजन गर्ने योजना बनाएको स्रोतको दावी छ । ‘सरकारमा सहभागी हुने कुराले राप्रमा समस्या छ,’स्रोतले भन्यो,‘आफूबाहेकको नेतृत्वमा सरकामा जान कमल थापाले रोके पार्टी फुटबाट नजोगिन सक्छ ।’ यो समूहले केही समय अघि गोप्य भेलासमेत गरेर थापालाई चुनौती दिएका थिए ।
राप्रपाको स्थानीय तहको निर्वाचनमा कमजोर उपस्थिति भएका कारण संसदीय दलमा समेत यसको असर देखिने भन्दै राप्रपाका नेताले अव बन्ने सरकारमा मन्त्री बन्ने सपना देखेको हुनसक्ने स्रोतको दाबी छ ।