
अमेरिकामा बाइडन प्रशासनले सत्ता चलाउन थालेदेखि एसिया प्रशान्त क्षेत्रमा समेत जोड दिँदै आएको छ । बाइडन प्रशासनले यस क्षेत्रलाई रणनीतिको एक केन्द्र बनाइरहेको छ र ओबामा प्रशासनको परम्परालाई कायम राखेको छ । तर अमेरिकाले कतिन्जेलसम्म यस क्षेत्रमा प्रभुत्व जमाउन सक्छ ? यस प्रश्नमा गहिरो सोचविचार गर्नु जरूरी छ ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिकाले विशाल सैन्य साझेदारी स्थापना गरेर एसिया-प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व मजबूत बनाएको थियो । अर्थशास्त्रको सवालमा अमेरिका यस क्षेत्रका मुलुकहरूका लागि लामो समयदेखि प्रमुख व्यापार साझेदार हो र लगानीको स्रोत पनि हो । यसले साझेदार तथा मित्रहरूमार्फत यस क्षेत्रमा गहिरो राजनीतिक पकड बनाएको छ । त्यसैले राजनीति, अर्थशास्त्र र सुरक्षाको सवालमा एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको महत्त्वपूर्ण प्रभाव छ । क्षेत्रीय व्यवस्थामा बेवास्ता गर्न नसकिने भूमिका पनि यसले निर्वाह गरेको छ ।
शीतयुद्धको अन्त्यपछि वाशिङटन एकध्रुवीय प्रभुत्ववादी प्रवृत्तिमा ध्यान दिन थाल्यो । एसिया प्रशान्त क्षेत्रमा प्रभुत्व कायम राख्नका लागि उसले प्रभाव मजबूत बनाउने काम पनि गरिरह्यो । तर चीनको उदयले केही हदसम्म अमेरिकाको प्रभुत्वशाली भूमिकामा प्रभाव पारेको छ । त्यसैले अमेरिकी सरकारले चीनलाई महत्त्वपूर्ण चुनौती तथा जोखिमका रूपमा लिने गरेको छ ।
ओबामा प्रशासनको पालामा अमेरिकाले पिभट टु एसिया नीति अर्थात् एसिया प्रशान्त रणनीतितर्फको सन्तुलनको नीति अपनाएको थियो । रणनीतिक केन्द्रीयतामार्फत यस क्षेत्रमा अमेरिकाको नेतृत्वलाई कायम तथा मजबूत बनाउने लक्ष्य यस नीतिको थियो । वाशिङटनले यस क्षेत्रलाई दिएको महत्त्व ट्रम्पको शासनकालमा पनि कायम रह्यो । ओबामा प्रशासनको भन्दा नितान्त भिन्न नीति अपनाए पनि ट्रम्प प्रशासनले यसलाई चाहिँ निरन्तरता दियो । एसिया-प्रशान्त क्षेत्रमा अमेरिकाको प्रभाव मजबूत बनाउनका लागि ट्रम्प प्रशासनले हिन्द-प्रशान्त रणनीतिक संरचना बनायो । साझेदार तथा मित्रहरूसँग बहुपक्षीय सहकार्य गरेर चीनलाई घेराबन्दी गर्ने लक्ष्य यसको थियो । यस क्षेत्रमा चीनको प्रभावलाई कमजोर बनाउने उद्देश्य यस रणनीतिले लिएको थियो ।
बाइडन प्रशासनले ट्रम्पको हिन्द प्रशान्त रणनीतिक संरचनालाई निरन्तरता दिइरहेको छ । सत्तामा आएलगत्तै उसले पहिलो क्वाड शिखर सम्मेलन आयोजना गर्दै यस क्षेत्रमा नियममा आधारित व्यवस्थामा जोड दियो । चीनको घेराबन्दी र दमन बाइडन प्रशासनमा कम भएको छैन । एसिया प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबीचको प्रतिस्पर्धा अझै पनि चर्को छ र यसले विश्वव्यापी चिन्ता जन्माएको छ ।
बाइडन प्रशासन महामारीका विरुद्ध लडिरहेको छ र अर्थतन्त्रको पुनरुत्थानका लागि प्रयास गरिरहेको छ । तर बहुपक्षीयतावादमा फर्किएर अनि साझेदारहरूसँग सम्बन्ध सुधारेर ऊ आफ्नो विश्वव्यापी नेतृत्वलाई पुनर्बहाली गर्न पनि लागिरहेको छ । चीनमाथि दबाब दिनका लागि बाइडन प्रशासनले बहुपक्षीय उपाय अपनाउन खोजेको देखिन्छ । विश्व तथा एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको प्रभुत्वशाली अवस्थितिलाई सुरक्षित गर्ने उसको उद्देश्य हो ।
एसिया प्रशान्त क्षेत्रलाई प्रभाव पार्ने कारकमध्ये चीन र अमेरिकाको सम्बन्ध प्रमुख कारक हो । केही मानिसलाई एसिया प्रशान्त क्षेत्रका मुलुक आर्थिक रूपमा चीनप्रति तथा सुरक्षाका लागि अमेरिकाप्रति निर्भर रहेको विश्वास गर्छन् । तर चीन र अमेरिकाबीच रणनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा आर्थिक तथा सुरक्षाको उक्त संरचना दिगो देखिँदैन । केही विद्वानहरूले चीन र अमेरिकाबीच द्विध्रुवीय संरचना बनेको समेत विश्वास गरेका छन् । त्यसमा दुईथरी प्रतिस्पर्धात्मक खेमा राजनीतिक, आर्थिक तथा सुरक्षाको क्षेत्रमा बन्ने देखिएको छ । साँच्चै यस्तो हुने हो भने एसिया प्रशान्त क्षेत्रको हितका लागि यो हानिकारक हुनेछ ।
कुनै पनि क्षेत्रीय व्यवस्थामा एक देशको प्रभाव चारवटा कुरामा निर्भर रहन्छ : राष्ट्रिय शक्ति, अन्तर्राष्ट्रिय परिचालन क्षमता, क्षेत्रीय संरचना र क्षेत्रीय परिस्थिति । राष्ट्रिय शक्तिको दृष्टिकोणबाट हेर्दा अमेरिकाको पतनोन्मुखताले एसिया प्रशान्त क्षेत्रमा उसको रणनीतिक स्रोत परिचालन घटेको छ । अमेरिकाको रणनीतिक लक्ष्य तथा स्रोतबीचको असन्तुलन झनै बढ्नेछ । अमेरिकाको घट्दो शक्तिले उसको अन्तर्राष्ट्रिय परिचालन क्षमतालाई पनि परीक्षण गर्नेछ तथा साझेदार र साथीहरूले उसमाथि गर्ने विश्वासलाई पनि घटाउनेछ ।
एसिया प्रशान्त क्षेत्रीय संरचनाको दृष्टिकोणबाट हेर्दा चीन र अमेरिकाबीचको शक्तिसन्तुलन महत्त्वपूर्ण तत्त्व हो । तर जापान, आसियान मुलुकहरू र भारत पनि महत्त्वपूर्ण प्रभावशाली खेलाडी बनेका छन् । यस क्षेत्रीय संरचनालाई वाशिङटनले प्रभुत्व जमाएको छैन । यसको बहुध्रुवीय संरचना बनेको छ । क्षेत्रीय परिस्थितिको सवालमा केही अस्थिर कारकतत्त्वहरू भए पनि यस क्षेत्रको समग्र परिस्थिति शान्तिपूर्ण छ । यस क्षेत्रका अधिकांश मुलुकले आर्थिक विकासलाई आफ्नो रणनीतिक केन्द्रका रूपमा लिएका छन् ।
एसिया प्रशान्तमा वाशिङटनको दह्रो प्रभाव रहिरहेको भए पनि भविष्यमा यस क्षेत्रमा उसको प्रभुत्व कमजोर हुने पक्का छ । अन्त्यमा उसको प्रभाव यहाँ शून्य हुनेछ । तर त्यो चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धाका कारण हुने हैन । यस क्षेत्रमा अमेरिकी प्रभुत्वको अन्त्य भएमा चीनको प्रभुत्व रहने भन्ने अर्थ यसबाट लगाउन मिल्दैन । अहिलेको विश्व एक शताब्दीमै नदेखिएको प्रमुख परिवर्तनबाट गुज्रिरहेको छ । प्रमुख शक्तिहरूले विश्वमा जमाएको प्रभुत्व कमजोर बन्दै गएको यी महत्त्वपूर्ण परिवर्तनले देखाएका छन् । अन्तर्राष्ट्रिय समुदायको विकासको यो अवश्यम्भावी परिणाम हो । प्रमुख शक्तिहरूको रणनीतिक विस्तारको ऐतिहासिक नियति पनि यही हो ।
ग्लोबल टाइम्समा प्रकाशित लिङ शङ्लीको आलेख