
इटाली समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे ।
खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् ।
यस जितसँगै समूह 'ए' को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
इटालीले ३ खेलमा ९ अंक जोड्यो । र, समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।
इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।