
काठमाडौँ, २२ जेठ- मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएकोे मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिनुभयो ।
“जुन १० बाट सुरु हुनुपर्ने मनसुन नेपालमा केही चाँडो आउने देखिएको छ”–उहाँले भन्नुभयो ।
सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यसवर्ष भने नेपालमा मनसुन चाँडो हुने देखिएको छ ।
दक्षिण एसियामा, मनसुन बङ्गालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बङ्गालको खाडीमा तथा बङ्गालादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि भित्रिने अनुमान महाशाखाले गरेको छ ।
पूर्व मनसुन र मनसुनको सङ्घारमा रहेकाले नेपालमा अहिले बदलीसँगै वर्षात् गराएको मौसमविद् रिमालको भनाइ छ ।
यसका साथै बङ्गालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त हावा तथा भारतको विहार आसपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असरस्वरुप नेपालका धेरै स्थानमा बदली भएको छ ।
योसँगै मनसुन रेखा पनि स्थापित हुँदै गरेकाले बदली र वर्षात् गराएको हो । देशभरि नै वर्षात् गराउने प्रणाली विकास भएकाले मङ्गलबार र बुधबार सामान्यभन्दा ठूलो वर्षात् हुने र देशका धेरै स्थानमा बदली रहने मौसमविद् रिमालले बताउनुभयो ।