
‘हेड बक्समा राखेका निर्माण सामग्रीहरू सबै बगाएको छ । केही पनि छैन त्यहाँ । निर्माण उपकरण तथा स्टोर गरी राखिएका सामग्रीहरू पनि बगायो ।
हामी अहिलेसम्म पुग्न सकेका छैनौं,’ यो भनाइ सुपर दोर्दी जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर अर्जुनप्रसाद गौतमको हो ।
गत असार १ गतेदेखि निरन्तर परेको वर्षाका कारण मुलुकका अधिकांश जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
यसमध्ये ५४ मेगावाटको सुपर दोर्दीमा भएको क्षतिबारे लोकान्तरलाई जानकारी दिँदै उनले भने, ‘५/७ महिनामा सञ्चालनमा ल्याउने तयारी थियो । अब कहिले सञ्चालनमा आउँछ, भन्न सकिने अवस्था छैन ।’
आयोजना प्रमुख गौतमले प्रारम्भिक रूपमा आयोजनामा ठूलै क्षति गरेको अनुमान गरिएको जनाए । तर पूरै हेरिसकेपछि मात्रै पूर्ण क्षतिको विवरण आउने उनको भनाइ छ ।
उनका अनुसार आयोजनाको सब ट्रान्समिसन लाइन पनि बगाएको छ भने अन्य उपकरणहरूको अवस्था पनि क्षतविक्षत् छ ।
उनले भने, ‘बाढीका कारण आयोजनामा जाने बाटो समेत पूरै कोल्याप्स भएको छ ।’

क्षतविक्षत् आयोजनालाई पहिलेको अवस्थामा फर्काउन निकै खर्च लाग्ने आयोजना प्रमुख गौतम बताउँछन् ।
उनका अनुसार क्षतिको अवस्था हेरी खर्चको आकार बढ्ने देखिन्छ ।

‘हेडबक्स नै पूरै बनाउनुपर्ने अवस्था रहेछ भने अर्बभन्दा बढी खर्च लाग्छ । मर्मत मात्रै गरे हुने रहेछ भने कम लाग्छ ।’
सुपर दोर्दी ५४ मेगावाट सहित लमजुङमा विभिन्न ५ जलविद्युत् आयोजना निर्माणाधीन छन्, जसमध्ये अधिकांशको निर्माण कार्य करीब अन्तिम चरणमा पुगेको छ ।
करीब एक वर्षभित्रमा सञ्चालनमा आउने तयारीमा रहेका यी आयोजनाहरूको निर्माण कार्य अहिलेको बाढीका कारण केही समय लम्बिएको छ । यो कति समय लम्बिने हो निश्चित छैन ।
त्यहाँ रहेका आयोजनामध्ये एक २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा पनि क्षतिको अवस्था उस्तै छ । लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको यस आयोजनाको बाँध पनि बाढी तथा पहिरोले पुरेको छ ।
यस्तै पावर हाउस तथा इन्टेक पनि पुरिएको आयोजनाका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।

निर्माणाधीन ५ वटै आयोजनाहरू ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२.१ मेगावाटको दोर्दी–१ र छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत आयोजना छन् । यी सबै आयोजनामा बाढीको क्षति रहेको बताइएको छ ।
यस्तै कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन २४ मेगावाटको मादमे खोला जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ ।

जेठ ३०, ३१ र असार १ गते आएको भीषण वर्षा र पहिरोले निर्माणाधीन करीब ७ किलोमिटरको पहुँच मार्गको ७५ प्रतिशत भाग पहिरोले पुरेको र नदीले कटान गरेको आयोजनाकी कार्यकारी अध्यक्ष सुशन कर्माचार्यले लोकान्तरलाई जानकारी दिइन् ।
उनका अनुसार आयोजनाको विद्युत् केबल, ४८ हजार ५ सय लिटर डिजेल, १ ड्रम ग्रिज तेल, २ ड्रम हाइड्रोलिक तेल समेत बाढीले बगाएको छ ।
उनले भनिन्, ‘साइट क्याम्पको ४ वटा कोठा पहिरोले पुरिएको छ ।’
क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको भएपनि करीब १० करोड बराबरको क्षतिको अनुमान गरिएको उनले बताइन् ।
यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माणाधीन ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् आयोजनामा पनि वर्षा र बाढी पहिरोले क्षति पुर्याएको छ ।

आयोजनाको साइट क्याम्पमा निर्माण गरिएको शौचालय, साइट अफिस भवन, स्टाफ क्वार्टर, भान्सा घरलगायत नदीले कटान गरेको कार्यकारी अध्यक्ष कर्माचार्यले जानकारी दिइन् ।
यस्तै बाढीले पावर हाउस र साइट क्याम्पको सुरक्षाका लागि बनाइएको ‘प्रोटेक्सन वाल’ मा पनि कटान गरेको छ ।
यस आयोजनामा बाढीले केकति नोक्सान गर्यो भन्ने बारे पूर्ण जानकारी नआइसकेको उनले बताइन् ।
इपान भन्छ- १० अर्बको नोक्सानी भयो
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का अध्यक्ष कृष्ण आचार्यले बाढी पहिरोका कारण निजी स्तरमा निर्माण भएका र निर्माणाधीन आयोजनाहरूमा करीब १० अर्ब बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
कतिपय आयोजनाहरूमा पहुँच मार्ग नै बिग्रिएकाले प्राविधिकसहितको टिम गएर अध्ययन गर्न नसकेको भन्दै उनले यो नोक्सानी अझै बढ्ने सम्भावना औंल्याए ।
लोकान्तरसँग उनले भने, ‘कतिपय आयोजनामा प्राविधिक टीमसहित गएर अध्ययन गर्न सकिएको छैन । करीब १० अर्ब जति नोक्सानी भयो भन्ने प्रारम्भिक अनुमान छ ।’
उनले निर्माणको अन्तिम चरणमा पुगेको सुपर मादी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको सुनाए ।
उनले भने, ‘मादीको ३/४ वटा प्रोजेक्टहरूमा ठूलो असर पुगेको छ भने कम्प्लिट भइसकेको अपर मादीमा पनि असर पुगेको छ ।’
सञ्चालनमा आइसकेको माथिल्लो मर्स्याङ्दीमा पनि ठूलो असर परेको उनको भनाइ छ ।
अध्यक्ष आचार्यले बाढी पहिरोले असर पुर्याएसँगै निर्माणाधीन आयोजनाहरू सञ्चालनमा आउने समय लम्बिने भएको छ ।
‘कतिपय आयोजनाहरू केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी थियो, अब यसको निर्माणको काम पछि धकेलिन्छ,’ उनले भने ।
अध्यक्ष आचार्यका अनुसार निजी क्षेत्रबाट निर्माण भइरहेका करीब डेढ दर्जन आयोजनाहरू प्रभावित भएका छन् ।
मनसुनको शुरूआतमै आयोजनाहरूमा ठूलो क्षति भएको भन्दै उनले अझै क्षति बढ्न सक्ने औंल्याए ।
उनले भने, ‘मनसुनको पहिलो स्टेजमै यति ठूलो क्षति भयो, अझै कति क्षति हुने हो भन्न सकिने अवस्था छैन ।’

प्राधिकरण भन्छ : पूर्ण विवरण आएको छैन, ठूला आयोजना प्रभावित भए
१ गतेको साँझपखदेखि प्राधिकरणका करीब ४ सय मेगावाट जतिका विद्युत् आयोजना प्रभावित भएका छन् ।
कुलेखानी बाहेक अधिकांश जलविद्युत आयोजनाहरू प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार कालिगण्डकी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, माथिल्लो त्रिशुली थ्री ए, चमेलिया लगायत प्रभावित भए ।
पछि २ गते साँझबाट कालिगण्डकी चलेको र अहिले क्रमशः चल्न थालेको उनले बताए ।
‘१ गते र त्यसपछि आएका बाढी तथा पहिरोले आयोजना आसपासमा बालुवा थुपारेको छ कतिपय क्षति पुर्याएका कारण केही समय बन्द नै गर्नुपरेको थियो, अहिले क्रमश पुनः सञ्चालनमा आउँदैछन्,’ लोकान्तरसँग प्रवक्ता तिम्सिनाले भने ।
उनका अनुसार बाढी तथा पहिरोले लमजुङको १ सय ३२ केभी प्रसारण लाइनको ४ वटा टावर बगाएको छ ।
यस्तै कालिगण्डकी, मर्स्याङ्दी, तल्लो मर्स्याङ्दीको ड्याम साइडमा धेरै नै क्षति भएको उनले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।