०३ असार २०८३, बुधबार

थुनिएको मर्स्याङ्दी नदी विस्तारै खुल्दै

थुनिएको मर्स्याङ्दी नदी विस्तारै खुल्दै
सांकेतिक तस्वीर

बाढीपहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले विस्तारै खुल्दै गएको छ ।

मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढीपहिरोका कारण नदी थुनिएको हो । 

उक्त स्थानमा थुनिएको नदी अहिले विस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङ र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको हो । 

सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर चामेबजार जाने ठूलो पक्की पुल जोगाएका हुन् ।

सशस्त्र प्रहरी बल नं.३२ गुल्म मनाङका गुल्मपति होमनाथ पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि मुढा काटेर पन्छ्याइएको छ । 

यस्तै मुरेडाँडा र हुण्डेमा भने नदी आफै खोलिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरेतापनि सर्तकता अपनाउन मनाङबासीलाई प्रशासनले आग्रह गरेको छ ।

यस वर्ष मनसुनको सुरुआतसँगै मनाङमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ । 

जिल्लामा चार वटा स्थानीय तह रहेका छन् । चार स्थानीय तहमध्ये चामे, नासोँ र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुबैबाट पूर्णरुपमा प्रभावित बनेका छन् भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

आज मात्र नार्पाभूमीका पहिरोपिडितका लागि सदरमुकाम चामेबाट राहतको सामग्री लगेर वितरण गरेको उनले बताए ।

नार्पामा माटाका घरहरु धेरै भएको र अत्यधिक पानी पर्दा घर भासिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्