
काठमाडौं, २२ जेठ — प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसद्को गतिरोध अन्त्य गर्ने सहमति भएको छ । संसद् सचिवालय सिंहदरबारमा सोमवार सभामुख ओनसरी घर्तीसहित बसेको तीन दलका शीर्ष नेताको बैठकले संसद् सुचारु गर्ने सहमति गरेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भोलि आफ्नो पार्टीले संसद अवरोध नगर्ने बताए ।
मंगलवार बस्ने पहिलो बैठकमा तीन दलका शीर्ष नेताले सम्बोधन गर्ने तथा प्रधानमन्त्रीको निर्वाचन गर्न राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचित गर्नेगरी सहमति भएको कानून मन्त्री अजय शंकर नायकले बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री निर्वाचन गर्न आइतवार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
दलहरूबीच सहमति भएसँगै मंगलवार बस्ने संसद्को बैठकबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।