सोलुखुम्बु, १३ पुस - जुवु–३ सोलुखुम्बुका ज्ञानबहादुर भारतीको घरमा आज दिउँसो आगलागी हुँदा करिब रु सात लाख ८६ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

घरमा अभिभावक नभएको बेला घरनजिकै रहेको बाख्राको खोरमा बच्चाहरूले आगो बालेपछि सो खोरसँगैको घरमा आगलागी हुँदा घरमा रहेको सबै सम्पत्ति जलेर नष्ट भएको हो ।
घरमा स–साना बालबालिका मात्र भएकाले घरमा भएको केही सामान पनि बचाउन नसकिएको पीडित भारतीले बताए ।
आगलागीमा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा गरगहना र नगदसमेत गरी रु सात लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।