१२ असार २०८३, शुक्रबार

फिलिपिन्सको मरावीमा लडाकुहरूले भारी मात्रामा खाना र हतियार थुपारेको भेटियो

कात्तिक २०, २०७४
फिलिपिन्सको मरावीमा लडाकुहरूले भारी मात्रामा खाना र हतियार थुपारेको भेटियो

काठमाडौं, २३ जेठ — फिलिपिन्सको मरावीमाथि कब्जा जमाएका मुसलमानी लडाकुहरूले लामै लडाईंका लागि तयारी गरेको खुलासा भएको छ । उनीहरूले सुरुङ र जमीनमुनि गरी ठूलो मात्रामा खाना र हतियार लुकाएको पाइएको अधिकारीहरूले बताएका छन् ।


सुरक्षाबलले बन्दुकधारीहरूलाई बाहिर निकाल्नका लागि कोशिश गरिरहेका छन् । दुई हप्ताअघि आक्रमणकारीले शहरमा आक्रमण गरेका थिए ।

यो लडाईंमा अहिलेसम्म कम्तीमा १७० जनाको मृत्यु भएको छ जसमा २० सर्वसाधारण छन् । एक लाख ८० हजार शहरवासी भागेका छन् ।

सयौं नागरिकहरू अहिले पनि शहरमा फसेका छन् र खाद्यसामग्रीको कमी देखिन्छ ।

सरकारले लडाकुविरुद्ध हवाई आक्रमण जारी राखेको छ । युद्धमा आफूले केही सफलता हासिल गरेको सरकारले बताएपनि शहरलाई पूर्ण नियन्त्रणमा लिन अझै सकेको छैन ।

वरिष्ठ सैन्य अधिकारीहरूले पत्रकारलाई बताएअनुसार लडाकुहरू वर्षौंअघि बनाइएका भूमिगत शिविरको व्यापक सञ्जालमा लुकेर बसेका छन् ।

‘भूमिगत सुरुङ र तहखानालाई त ५०० पाउन्डको बमले पनि ध्वस्त पार्न सक्दैन,’ मेजर जनरल कार्लितो गाल्वेज बताउँछन् । उनी पश्चिमी मिन्दानाओ क्षेत्रको सैन्य कमान्डका प्रमुख हुन् ।

सरकार र सेनाले मरावीमा ४० देखि २०० सम्म लडाकु बाँकी रहेको अनुमान गरेका छन् ।

यसैबीच आफ्ना सैनिकहरूले लडाकुका घरमा भेटिएका लगभग ८० करोड फिलिपिनो पेसो नगद र चेक लुटेको दाबीलाई फिलिपिन्स सरकारले खारेज गरेको छ ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले लडाकु नेताहरू इस्निलोन हापिलोन र माउटे दाजुभाइहरूलाई पक्रिनका लागि दिइने पुरस्कार राशि बढाएर २७ करोड पेसो पु–याएका छन् । हापिलोनलाई समात्नका लागि अमेरिकाले छुट्टै ५० लाख डलर रकमको पुरस्कार घोषणा गरेको छ ।

अमेरिकाले फिलिपिन्सलाई मशिनगन र ग्रिनेड लन्चर लगायतका हतियारहरू दिएको छ । यो हतियार आफ्ना सैनिकले मरावीको लडाईंमा प्रयोग गर्ने फिलिपिन्सले बताएको छ ।

मरावीमा लडिरहेका लडाकुमा विदेशी नागरिक पनि रहेको अधिकारीहरूले बताएका छन् । साउदी अरब, इन्डोनेसिया, मलेसिया, यमन, भारत र चेचेन्याका लडाकु पनि त्यहाँ छन् ।

लामो समय शहरमा कब्जा जमाउनका लागि लडाकुहरूले तयारी गरेको अनि शहर कब्जा गर्नुभन्दा कैयौं दिनअघि मदरसा र धार्मिक विद्यालयहरूमा बन्दोबस्तीका सामान थुपारेको अधिकारीहरूले बताएका छन् । धार्मिक विद्यालयमा हवाई आक्रमण गर्न नपाइने भएकाले उनीहरूले त्यो ठाउँ रोजेका हुन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्