
काठमाडौं, २३ जेठ– सोमवार छिमेकी साउदी अरबसहित विभिन्न सात मुलुकले साविकको कुटनीतिक सम्बन्ध तोडेपछि नेपाली कामदारको दोस्रो ठूलो गन्तव्यस्थल कतारको भविश्य अन्योलग्रस्त बनेको छ । कुटनीतिक सम्बन्ध तोडेसँगै ती मुलुकहरूले आर्थिक सम्बन्धमा पनि कतारलाई एक्ल्याउँदै लगेका छन् ।
आतंकवादलाई प्रश्रय दिएको आरोपसहित साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), बहराईन, लिबिया, इजिप्ट, यमन र माल्दिभ्सले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।
कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरिएलगत्तै पहिलो चरणमै आर्थिक बन्देज सुरु भइसकेको छ । जसअन्तर्गत कतारसँगको उड्डयन सम्बन्ध तोडेको घोषणा ती मुलुकले गरेका छन् ।
पछिल्ला विकसित घटनाक्रमले कतारको महत्वपूर्ण श्रम साझेदार मुलुक नेपालमा पर्न सक्ने प्रभावबारे पनि चर्चा सुरु भएको छ ।
खासगरी कतारसँगको नेपालको उड्डयन सम्बन्ध अब के हुन्छ भन्ने अड्कलबाजी पनि भएका छन् । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पछिल्ला घटनाक्रमले नेपाल र कतारबीचको उड्डयन सम्बन्धमा कुनै प्रभाव नपार्ने प्रष्ट पारेको छ ।
‘कतारसँगको नेपालको अधिकांश उडान प्वाइन्ट टू प्वाइन्ट छन्,’ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले लोकान्तरसँग भने, ‘तसर्थ पछिल्ला घटनाले नेपालको उड्डयन सम्बन्धमा त्यति धेरै असर गर्दैन ।’
प्राधिकरणका अनुसार नेपालबाट कतारका लागि हाल सातामा औषतमा २६ उडान हुँदै आएका छन् । साउदी अरब र युएईका विमानले पनि यसअघि कतारमा उडान भर्दै आएकामा कुटनीतिक सम्बन्ध चिसिएसँगै कतार नजाने घोषणा गरेका छन् । अब कतार एयरलाइन्स, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कतारका लागि नेपालबाट उडान भर्ने गर्छन । प्राधिकरणका अनुसार मूलतः यी एयरलाइन्सले नै कतारका अधिकांश उडान भर्ने गर्छन् ।
‘नेपालबाट कतार र कतारबाट नेपाल सीधा उडान भर्ने कुनै पनि एयरलाइन्सले उड्डयन सम्बन्ध तोडेको घोषणा गरेका छैनन्,’ प्राधिकरणका महानिर्देशक गौतमले भने । हालसम्म कतारसँगको उड्डयन सम्बन्ध सामान्य रहेको प्राधिकरणले बताएको छ ।
कतार एयरलाएन्यसले उडान भर्ने प्रमुख गन्तव्य दुवई, अवुधावी, साउदी अरब, इजिप्ट लगायतले कतारसँगको सम्बन्ध तोडेपछि विमान बढी हुने हुँदा पनि त्यसको सकारात्मक प्रभाव नेपालमा पर्ने प्राधिकरण बताउँछ ।
क –कसले गरे कतारसँगको उडान सम्बन्ध विच्छेद
सोमवारसम्म यूएईको एयर अरेबिया, इमिरेट्स, इत्तिहाद तथा फ्लाई दुवई तथा साउदी अरेबियाको साउदियाले कतारसँगको उड्डयन सम्बन्ध विच्छेदको घोषणा गरिसकेका छन् । कुटनीतिक सम्वन्ध अन्त्यको घोषणा गरेका सातै मुलुकले मुलुकले कतारको प्रमुख एयरलाइन्स कम्पनी कतार एयरवेजका लागि आफ्ना मुलुकमा स्थान नदिने घोषणा पनि गरिसकेका छन् ।