२६ असार २०८३, शुक्रबार

कतारमाथि नाकाबन्दी लागेपछि खानेकुरा जम्मा गर्ने होडमा कतारीहरू

कात्तिक २०, २०७४
कतारमाथि नाकाबन्दी लागेपछि खानेकुरा जम्मा गर्ने होडमा कतारीहरू

काठमाडौं, २३ जेठ — कतारको जमीन सीमा साउदी अरबसँग मात्र छ र साउदी अरबले सोमवार कतारमाथि नाकाबन्दी लगाएपछि कतारी नागरिकहरू खानेकुरा जम्मा गर्ने होडबाजीमा लागेका छन् । सुपरमार्केटहरूमा सोमवार नै सबै खाना रित्तिएका छन् ।


साँझ पर्दासम्म दोहाको एक सुपरमार्केटमा स्ट्रबेरी दूध मात्र बाँकी थियो । कुखुराको मासु पनि सबै सकिएको देखिन्थ्यो ।

‘यो त अत्यन्तै गम्भीर समस्या हुने देखिन्छ किनकि पसलहरू खाली भइसके,’ एक बेलायती ग्राहकले भने । ‘साउदी अरबबाट आयात हुने दूध र कुखुरा देख्न छोडियो ।’

सामाजिक सञ्जालमा ग्राहकहरूको भीडले ट्रलीमा खानेकुरा, पानी र अन्य पेयपदार्थको पहाडै बनाएको दृश्यहरू देख्न पाइन्थ्यो ।

कतारले लगभग ९० प्रतिशत खानेकुरा आयात गर्छ र यसमध्ये अधिकांश साउदी अरबको सीमा अबु सम्राबाट आउँछ । कतारमा खानेकुरा ल्याउनका लागि तयार लरीहरू साउदी अरबको सिमानामा रोकिएको अलजजीराले बतायो ।

दोहा र दुबईमा काम गर्नै पत्रकार स्याल्ली ब्रुसले कतारीहरू थुप्रो खानेकुरा किन्नमा व्यस्त रहेको बताइन् ।

‘कतारमा बस्ने मेरा साथीहरू यहाँ त अस्तव्यस्तता छ भन्छन् । मान्छेहरू सुपरमार्केटतर्फ भागिरहेका छन् मानौं कि प्रलय नै आउँदैछ,’ ब्रुसले भनिन् ।

‘उनीहरू यो संकट छिट्टै समाधान हुने आशा राख्छन् ।’

साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध तोडेर जमीन, समुद्र र हवाई मार्गमा नाकाबन्दी लगाएपछि यो समस्या निम्तिएको हो ।

कतारले आफैं केही पनि उत्पादन नगर्ने भएकाले युएईको समुद्री तटबाट जहाजमार्फत वा अबु सम्राको सीमाबाट लोरीमार्फत सामान आयात गर्छ ।

सन् २०१४ मा द नेसनल पत्रिकाले समाचार बनाएअनुसार अबु सम्रा सीमाबाट दैनिक ८०० लरी कतार भित्रिन्छन् । यी लरीमा खानेकुरा र निर्माण सामग्रीहरू अन्य देशबाट आयात गरिन्छन् ।

व्यापारिक स्रोतहरूका अनुसार युएई र साउदी अरबले कतारतर्फ चिनी निर्यात बन्द गरेका छन् । कतारले यी दुई देशबाट वार्षिक रूपमा एक लाख टन चिनी आयात गर्छ । अहिले रमादान चलिरहेको बेलामा चिनीको खपत अत्यधिक हुन्छ ।

कतारले चाहिँ सीमा बन्द हुँदैमा आफ्नो नागरिक र निवासीको दैनिक जीवनलाई कुनै प्रभाव नपर्ने बताएको छ ।

यसैबीच एक इरानी अधिकारीले कतारलाई समुद्रमार्फत खानेकुरा निर्यात गर्ने बताएको अर्धसरकारी फार्स समाचार संस्थाले रिपोर्ट लेख्यो ।

कृषि उत्पादन निर्यातक युनियनका अध्यक्ष रेजा नूरानीले खानेकुरासहितका जहाजहरू इरानबाट कतार १२ घन्टामा पुग्ने बताए ।

द नेसनलबाट

salt training

कमेन्ट गर्नुहोस्