
अमेरिकामा शीतयुद्धका पक्षधरहरू हावी हुन थालेको देखिन्छ ।
परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा चीनको बारेमा कुरा गर्दा बाइडन प्रशासनको परराष्ट्रनीतिको झलक दिए । उनले चीनको प्रभाव बढ्दै गएको स्थितिमा फ्रान्स र अमेरिका स्वतन्त्र विश्व व्यवस्थाको प्रतिरक्षाका लागि एकै ठाउँमा उभिएको बताए । यसको विकल्प भनेको विश्वमा कुनै व्यवस्था नै नरहने वा अत्यन्तै अनुदारवादी चिनियाँ विश्व व्यवस्था हुने उनले चेतावनी दिए ।
गत मार्च महिनामा अलास्कामा अमेरिका र चीनका शीर्ष अधिकारीहरूबीच वार्ता हुँदा ब्लिन्केनले अमेरिकाका तर्फबाट कठोर सन्देश दिएका थिए । यसैबीच राष्ट्रपति जो बाइडनले लोकतन्त्र जोखिममा रहेको र पश्चिममा रहेका अनुदारवादी प्रवृत्तिहरू मात्र त्यसमा संलग्न नरहेको चेतावनी दिएका छन् ।
यस्तो स्थितिमा अमेरिका र चीनबीच नयाँ शीतयुद्धको अवधारणाले वाशिङटनमा ठोस रूप ग्रहण गर्दै गएको छ । तर पहिलो शीतयुद्ध पश्चिमका पूँजीवादी तथा सोभियत खेमाका कम्युनिस्टहरूबीचको विचारधारात्मक द्वन्द्व थियो ।
अमेरिका र चीन चाहिँ उदाउँदो र अस्ताउँदो शक्तिबीचको शास्त्रीय लडाइँमा रहेको देखिन्छ । तर ब्लिन्केनले यस लडाइँमा विचारधारात्मक अवयव पनि संलग्न रहेको देखेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले अब केही दिनभित्रै चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहको नेतृत्व गर्दैछन् । उनले विश्व मञ्चमा चीनका लागि थप कठोर अडान लिइरहेका छन् । बेइजिङले प्रशान्त महासागर र अन्यत्र पनि शक्तिप्रदर्शन गरिरहेको छ अनि हङकङमा भएका घटनाले आफ्नो भूमिमा चीन दमन गर्न नहिचकिचाउने स्पष्ट पारेको छ ।
तर बेइजिङ लोकतन्त्रका विरुद्ध विश्वव्यापी लडाइँका लागि उत्सुक (वा समर्थ) छ कि छैन भन्ने जल्दोबल्दो प्रश्न छ । सीले अपनाएको लोकरञ्जनवादी राष्ट्रवाद निरंकुश सत्तारूढ दलको समर्थन कायम राख्नका लागि हो कि विश्वव्यापी महत्त्वाकांक्षा राख्ने चीनको परराष्ट्रनीतिको वास्तविक अभिव्यक्ति हो ?
जे भए पनि वाशिङटनमा नीतिनिर्माण तथा अमेरिकाका राजनीतिक अभियान (अर्थतन्त्रदेखि संरचना निर्माणसम्म अनि रक्षा सुदृढीकरणदेखि सामाजिक सुरक्षासम्म) चीनसँगको अवश्यम्भावी भिडन्तकै नजरले हेरिन थालेका छन् । अब चाहिँ यसलाई शीतयुद्धको आरम्भिक लक्षण हैन भन्न गाह्रो छ ।
सीएनएनमा प्रकाशित स्टिफन कोलिन्सनको विश्लेषण