१० साउन २०८३, आइतबार

चीन सीमामा अचानक पुगे ५० हजार भारतीय सैनिक, भिडन्तको तयारी ?

असार १४, २०७८
चीन सीमामा अचानक पुगे ५० हजार भारतीय सैनिक, भिडन्तको तयारी ?

भारतले चीनसँग जोडिएको सीमामा कम्तीमा ५० हजार सैनिक तैनाथ गरेको छ । 
 

ब्लूमबर्गमा आएको खबरअनुसार, चीनसँग भिडन्तको सम्भावना प्रबल बनेको बेलामा भारतले यो कदम चालेको हो । 

सीमामा विभिन्न तीन स्थानमा सैन्य टुकडी र युद्धविमानहरू तैनाथ गरिएका छन् । 

त्यसबाहेक चीन सीमामा नजर राख्नका लागि भारतले लगभग दुई लाख सैनिक तैनाथ गरेको छ । यो पोहोर सालको तुलनामा ४० प्रतिशत बढी हो ।

तर भारतीय सेनाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । 

पोहोर साल जुन १५ मा भारतीय र चिनियाँ सैनिकहरूबीच लद्दाखको गलवानमा हिंस्रक भिडन्त भएपछि भारतले पाकिस्तान सीमामा खटिएका सैनिकलाई चीन सीमातर्फ सारेको छ । 

चिनियाँ अतिक्रमण रोक्नका लागि सैनिक तैनाथ गर्ने गरेकोमा भारतले अब जवाफी कारवाही गर्न तथा चीन सीमामा प्रवेश गर्ने क्षमता पनि बढाएको बताइएको छ । भारतले चीनविरुद्ध अफेन्सिभ डिफेन्सको रणनीति अंगीकार गर्न नहिचकिचाउने एक सूत्रले ब्लूमबर्गलाई बताएका छन् । 

यसका लागि एक उपत्यकाबाट अर्को उपत्यकासम्म सैनिक तथा हलुका होवित्जर तोपहरू ल्याउन जान हेलिकप्टर पनि तैनाथ गरेको छ । 

उता चिनियाँ जनमुक्ति सेनाले तिब्बतबाट सैनिकहरूलाई सिन्ज्याङ मिलिटरी कमान्डतर्फ सारेको छ । यही कमान्डले भारतसँगको विवादित क्षेत्रमा गश्तीको जिम्मेवारी पाएको छ ।

चीनले युद्धविमानहरू राख्नका लागि धावनमार्ग, बम प्रूफ बंकर तथा नयाँ एयरफील्डहरू बनाइरहेको छ । उसले लामो दूरीसम्म मार हान्न सक्ने हतियार, रकेट रेजिमेन्ट, दुईवटा इन्जिन भएका फाइटर जेट पनि तैनथा गर्न खोज्दैछ । 

चीनको तयारीको जवाफमा भारतले ऐतिहासिक कदम उठाउँदै सैन्य तैनाथी बढाउँदा दुई देशबीचको संघर्ष खतरनाक स्तरमा पुग्ने देखिएको छ । 

सैन्य स्तरमा दुई देशबीच भएको वार्ताबाट कुनै ठोस परिणाम आएको छैन । पोहोर साल आमनेसामने गरेका दुवै देशका सैनिक धेरैजसो क्षेत्रमा अहिले पनि एकअर्कामाथि नजर गाडेर बसिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्