
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि नेताहरू नाथुराम गोड्से बन्ने भन्दै हिँड्न थालेको टिप्पणी गरेका छन् । उनले सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीलाई काट्नुपर्छ भन्ने बहस भइरहँदा न्यायाधीशले समेत नरोकेकोमा गुनासो गरे ।
मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस प्रचण्ड पथमा लाग्दा कार्यकर्ताले नाथुराम गोड्से जन्मिने कुरा उठ्न थालेको बताएका हुन् ।
बाग्मती प्रदेश सभामा कांग्रेस सांसद नरोत्तम वैद्यले देशलाई जोगाउन नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि वैद्यले सो अभिव्यक्ति फिर्ता लिएका छन् ।
‘माधव नेपाल भन्ने कांग्रेसको पछाडि लाग्ने मान्छे छन्, कम्युनिस्ट आन्दोलन सिध्याउन र एमाले सिध्याउन लागिपरेका लाजश्रम पचेका व्यक्तिको चर्चा सकारात्मक/नकारात्मक ढंगले पनि हुन्छ । गान्धीको मात्र होइन, नाथुरामको पनि चर्चा भइरहेको छ,’ ओलीले भने, ‘कांग्रेस प्रचण्ड पथमा हिँडेपछि कांग्रेसका नेताहरू कोही नाथुराम गोड्से नभए आफैँ हुने भन्न थालेका छन् । कांग्रेस अराजकतामा पुग्नु भनेको प्रचण्डपथ अंगाल्नु हो । प्रचण्डपथ यति व्याप्त भइसक्यो । सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतमा राष्ट्र प्रमुख काटिएको कुरा उठाउँछन् ।’
हिंसालाई दुरुत्साहन गर्ने कामलाई सर्वोच्चले रोक्न नसकेको भन्दै उनले गुनासो गरे । ‘राष्ट्रपति र प्रधानमन्त्रीलाई काट्नुपर्छ भनेर प्रचण्डका कार्यकर्ताले त सर्वोच्च अदालतमै भने’ ओलीले भने, ‘सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने काम गर्नु हुन्न । अथवा विद्वान अधिवक्तालाई वक्तव्य सम्हालिएर राख्नुस् भनेर भन्न सक्नुहुन्न र ?’