
डडेल्धुराको परशुराम नगरपालिका– ८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत रहेकी स्वास्थ्यकर्मी २६ वर्षीया अस्मिता धामीको हत्या भएको १२ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।
असार २ गते स्वास्थ्य सामग्री पुर्याउन स्थानीय जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी अस्मिताको हत्याका सम्बन्धमा कुनै पनि प्रमाण फेला पार्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रसिंह थापाले बताए ।
‘असार ४ गते शव फेला परेदेखि अहिलेसम्म कुनै पनि प्रगति भएको छैन,’ एसपी थापाले लोकान्तरसँग भने, ‘शव सडेको अवस्थामा फेला परेको हुनाले थप प्रगति नभएको हो ।’
थापाका अनुसार प्रहरीको फरेन्सिक ल्याबमा डीएनए लगायतका कुराहरू अनुसन्धानका लागि पठाएको छ ।
घटनास्थलभन्दा केही पर फेला परेको धामीको मोबाइलको कल डिटेलको पनि अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।
‘फरेन्सिक ल्याब र कल डिटेल जस्ता कुराहरूमा समय लाग्ने भएकाले ढिलो भएको हो,’ प्रवक्ता थापाले लोकान्तरसँग भने, ‘प्रदेशको आरआईटी टोली, संघीय प्रहरीको टोली, जिल्लाको टोलीसहित जम्बो टोली अनुसन्धानमा लागेको छ ।’
मोबाइल फुटाएको अवस्थामा फेला परेकाले हत्या भएको प्रहरीको निष्कर्ष
असार ४ गते स्वास्थ्यकर्मी अस्मिता धामीको शव फेला परेको केही मिटर पर फेला परेको उनले प्रयोग गर्दै आएको मोबाइल फुटेको अवस्थामा फेला परेकाले धामीको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले बताए ।
‘मोबाइल फुटेको अवस्थामा फेला परेको थियो, त्यो केही गह्रौं वस्तुले फुटाएर कुच्याएको अवस्था फेला परेको थियो,’ डीएसपी नेपालले लोकान्तरसँग भने, ‘त्यसले गर्दा हत्या भएको हो भन्न सकिन्छ ।’
प्रहरीले अहिलेसम्म हत्यामा संग्लन को थिए, कसरी त्यहाँ लडिन् भन्ने पनि पत्ता लगाउन सकेको छैन ।
डीएसपी नेपालका अनुसार घटनास्थल हेर्दा अस्मिता आफैँ लडेको देखिँदैन् ।
‘उनलाई कसैले धकेलेको जस्तो देखिन्छ, तर कसले किन धकेल्यो भन्ने उनले प्रयोग गर्ने मोबाइलको फरेन्सिक रिपोर्ट आएपछि मात्र पत्ता लाग्ला,’ प्रमुख नेपालले भने ।