प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् भवनलाई दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
संसद् भवनमा संसदीय क्रियाकलापबाहेक अन्य काम गर्न नपाइने भएपनि तथाकथित पत्रकार सम्मेलन र बुद्धिजीवीको भेलाका नाममा संसद् भवनलाई दुरुपयोग गरिएको आरोप लगाएका हुन् ।
मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले संसद्ले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बकवासी कामका लागि नभएको टिप्पणी गरेका हुन् ।
‘संसद् भवनलाई संसदीय क्रियाकलाप बाहेक अन्य काममा प्रयोग गर्न पाइँदैन । तथाकथित पत्रकार सम्मेलन, बुद्धिजीवी भेला रे, संसद्ले भाडामा लिएको आईसीसी यस्तो बकवासी कामका लागि हो ?’ ओलीले भने, ‘प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै कानून र अभ्यासभन्दा माथि हुने ?’
संसद् भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनले पत्रकार सम्मेलन लगायतका काम गरेको थियो ।