०७ साउन २०८३, बिहीबार
कांग्रेसमा महाधिवेशनको दौड

रामचन्द्रलाई चुनावपछि प्रधानमन्त्री बन्न शेखरको प्रस्ताव, सभापतिमा सघाउन आग्रह

रामचन्द्रलाई चुनावपछि प्रधानमन्त्री बन्न शेखरको प्रस्ताव, सभापतिमा सघाउन आग्रह

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रस्ताव गरेका छन् ।

पौडेललाई प्रधानमन्त्री बन्न आग्रह गर्दै सभापतिमा आफूलाई मद्दत गर्न कोइरालाले आग्रह गरेका हुन् । 

बोहोराटारस्थित पौडेलको निवासमा सोमवार बिहान नेताद्वयबीच भेटवार्ता भएको थियो । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने भन्दै लामो तयारी गरेका शेखरले देउवा इतरबाट आफूलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् ।

‘तपाईंको लामो अनुभवलाई प्रधानमन्त्री बनेर कार्यान्वयन गर्नुस्, सभापतिमा मलाई समर्थन गर्नुस्,’ कोइरालाको प्रस्ताव उदृत गर्दै स्रोतले भन्यो । 

कोइरालाले २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर चुनावमा गएजस्तै पौडेललाई प्रधानमन्त्री बनाउने प्रस्ताव लैजान सकिने बताएका थिए । कोइरालाको प्रस्तावमा पौडेलले कुनै जवाफ भने दिएका छैनन् ।

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।

कोइरालाले आफू एकपटकको लागि पार्टीको नेतृत्वमा पुग्ने तर प्रधानमन्त्रीमा दाबी नगर्ने बताउँदै आएका छन् । महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले दौडधूप र छलफललाई तीब्र बनाएका छन् । कोइरालाले केही दिन पहिले युवा नेता गगनकुमार थापा लगायतसँग छलफल गरेका थिए । 

‘व्यक्तिभन्दा पनि हामी एक भएर अगाडि बढ्न सकेनौं भने कांग्रेस कमजोर हुन्छ र धर्मराएको लोकतन्त्रलाई बचाउन पनि कांग्रेसमा सक्षम नेतृत्व चाहिन्छ भन्नेबारे २ नेताबीच छलफल भएको छ,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले लोकान्तरसँग भने । 

क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले मनलाग्दी गरेकाले ध्यान दिनुपर्नेमा छलफल भएको अधिकारीले बताए । 

कोइराला परिवारकी अर्की सदस्य सुजाता कोइरालाले पनि सोमवार नै वरिष्ठ नेता पौडेलसँग छलफल गरेकी छन् । महाधिवेशनमा सभापतिका उठ्ने दाबी गर्दै आएकी नेत्री कोइरालाले पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौलालाई लञ्च मिटिङमा बोलाएर छलफल गरेकी हुन् । 

मण्डिखाटारमा भएको ३ नेताको छलफलमा पनि कांग्रेसमा सक्षम नेतृत्व निर्वाचित गर्नका लागि देउवाइतर समूहबाट साझा उम्मेदवार बनाउनेबारे छलफल भएको थियो । कोइराला परिवारका अर्का सदस्य महामन्त्री डा. शशांक कोइरालाले पनि छलफललाई तीब्र बनाएका छन् । 

कोइराला परिवारका ३ नेता शेखर, शशांक र सुजातबीच साझा उम्मेदवार बनाउने यसअघि सहमति भएको थियो । अहिले तीनै जना नेता सभापतिको उम्मेदवार बन्ने भन्दै हिँडे पनि अन्तिममा एक मात्र उम्मेदवार बन्ने कांग्रेस स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्