
नेपाल राष्ट्र बैंक यतिखेर मौद्रिक नीतिको तयारीमा छ ।
अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आय–व्ययको विवरण (बजेट) सार्वजनिक गरेको केही समयपछि केन्द्रीय बैंकको रूपमा रहेको राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको हो ।
मौद्रिक नीतिको तयारी स्वरूप अहिले यसका लागि राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरूसँग सुझाव संकलन गरिरहेको छ ।
सार्वजनिक सूचना नै जारी गरी राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव आह्वान गरेको थियो ।
अहिले राष्ट्र बैंकले विभिन्न क्षेत्रमार्फत मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले लोकान्तरलाई जानकारी दिए ।
उनले भने, ‘अहिले हामी छलफल र सुझाव संकलनकै चरणमा छौँ, विभिन्न सरोकारवाला, औद्योगिक, व्यापारिक, विभिन्न संघ–संगठनहरूसँग, बैंकर्स संघहरूसँग छलफल गरिरहेका छौं ।’
कस्तो हुन्छ मौद्रिक नीतिको दिशा ?
अर्थमन्त्रालयले संवैधानिक व्यवस्था बमोजिम जेठ १५ गते सार्वजनिक गरेको बजेट कार्यान्वयनमा सहयोग पुर्याउने गरी मौद्रिक नीति सार्वजनिक हुन्छ ।
बजेटमार्फत आगामी आर्थिक वर्ष २०७८/८९ का लागि सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
आगामी मौद्रिक नीति ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सहयोग पुर्याउनेतर्फ केन्द्रित हुनेछ, जसका लागि तरलता व्यवस्थापन गर्ने काम मौद्रिक नीतिले गर्नेछ ।
यस्तै ६.५ प्रतिशतको परिधिभित्र मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न पनि मौद्रिक नीतिले कार्यक्रम ल्याउने छ ।
यससँगै कोरोना महामारीले अर्थतन्त्रमा पुर्याएको क्षति न्यूनिकरण गर्दै अर्थतन्त्र पुनरुत्थान गर्नका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने प्रवक्ता ढकालले बताए ।
यस्तै व्यवसाय प्रवद्र्धन, उद्योग र पेशा व्यवसायको सबलीकरण, उत्पादन वृद्धि, रोजगारी वृद्धि, उद्यमशीलता विकासका लागि पनि मौद्रिक नीतिमा व्यवस्था हुनेछ ।
प्रवक्ता ढकालले वित्तीय स्थायित्वलाई सहयोग गर्ने, प्रवद्र्धन गर्ने जस्ता काममा मौद्रिक नीति केन्द्रित हुने बताए ।
मुद्रास्फीतिको नियन्त्रण, कर्जाको वृद्धि, रोजगारी प्रवद्र्धन, सोधनान्तर स्थितिमा चाप पर्न नदिनेतर्फ मौद्रिक नीति केन्द्रित हुनेछ ।
प्रवक्ता ढकालले कोरोना महामारीको दोस्रो लहरले अर्थतन्त्रमा परेको असर कम हुँदै गइरहेको भन्दै यसमा राष्ट्र बैंकको ‘विषेश प्याकेज’ आवश्यक नपर्ने बताए ।
यद्यपि सुझाव संकलन कार्य भइरहेको बताउँदै उनले केही धेरै प्रभावित क्षेत्रहरूको हकमा भने पुनरुत्थान कार्यक्रम ल्याउने बताए।
उनले भने, ‘एकदमै असर गरेको क्षेत्रलाई पुनरुत्थान गर्नेतर्फ त लाग्छौं, तर ठूलै चेञ्ज गर्नुपर्ने देखिन्न ।’
आउला मर्जरका लागि विशेष व्यवस्था ?
राष्ट्र बैंकले पछिल्लो समय वाणिज्य बैंकहरूको मर्जरका लागि प्रोत्साहन नीति ल्याइरहेको छ ।
सकेसम्म सहज रूपमा मर्जरका लागि प्रोत्साहन नीति लिएको भन्दै आगामी मौद्रिक नीतिले पनि मर्जरका लागि प्रोत्साहन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकका प्रवक्ता ढकालले मर्जरका लागि प्रोत्साहन गर्ने गरी नै मौद्रिक नीति आउने बताए ।
मर्जरको विषयसँगै बजारमा बैंकको पूँजी वृद्धिको पनि चर्चा चल्न थालेको छ । यद्यपि बैंकहरूको पूँजी वृद्धि गर्ने विषयमा राष्ट्र बैंकले वर्कआउट नगरेको उनको भनाइ छ ।
बैंकको पूँजी वृद्धि गरेको लामो समय नभएको भन्दै उनले अहिले यसको आवश्यकता भइनसकेको बताए ।
शेयर बजारमा कडाइ होला ?
पछिल्लो समय शेयर बजार निकै उकासिएको छ । कतिपय सरोकारवालाहरूले शेयर बजारमा भएको यस वृद्धिलाई सामान्य भन्दा पनि फुकेको भनी अर्थ्याइरहेका छन् ।
यस बीचमा राष्ट्र बैंकले शेयर धितो कर्जालाई कडाइ गर्ने चर्चा चलिरहेको छ ।
यद्यपि राष्ट्र बैंकले भने लगानी सुरक्षित गर्नेतर्फ मात्रै केन्द्रीय बैंकको ध्यान हुने बताएको छ ।
हल्लाको पछाडि नलाग्न भन्दै विभिन्न कार्यक्रमहरूमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्ने गरेका छन्, ‘हामीले शेयर बजारलाई सुरक्षित बनाउनेछौँ, जसले गर्दा लगानीकर्ता सुरक्षित हुन सकुन् ।’