
राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेकद्वारा गठित समूहको बैठकको चियानास्ता खर्चबापत जम्मा भएको ५ हजार ५०० रुपैयाँ राजविराज–९ मलेठकी सियावती मेहतालाई उनकै घर पुगेर समूहले प्रदान गरेको हो ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सहजकर्ता दिपक यादव र समूहका सहस्यसहित पुगेका निगरानी समूहका अध्यक्ष रघुवर साहले रकम हस्तान्तरण गरे ।
उपचार खर्चको अभावमा घरमै बसेकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताइन् । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मिर्गाैलामा समेत समस्या देखिएको उनले जानकारी दिइन् ।
उनका पति पत्रकार एवं समूहका सदस्य उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।