
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठीपत्र ओसार प्रसार गर्ने भएको छ ।
सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच मंगलवार सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए ।
सन् २०२१ जुलाई १ देखि लागू हुने सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगममार्फत मात्र सामान तथा चिठीपत्र ढुवानी हुनेछन् ।
यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत सो काम गराइरहेको थियो । यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देशभित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
निगमले विभिन्न ७ देशका ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । हाल २ वाइड बडी र २ न्योरोबडी जहाजमार्फत उडान भइरहेको छ ।