
डोटी जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको पाइएको छ ।
जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरूको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालू आर्थिक वर्ष २०७७ /७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा १ हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए ।
गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताए ।
उनले भने, ‘गर्भपतन सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, समस्या परेको खण्डमा गरिने उक्त सेवा अस्थायी साधनका रुपमा प्रयोग गरिए महिलाको स्वास्थ्यमा नै असर पर्ने निकै सम्भावना छ ।’
पछिल्लो समय गर्भपतन सेवा अस्थायी साधनका रूपमा प्रयोग हुन थालेका कारण यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।
उनले भने, ‘गर्भपतन सेवा लिने बानी खासै राम्रो होइन, जिल्लामा गर्भवतनको गलत नजीर बसेको छ, यसले आमा बन्नेहरुको ज्यान नै खतरामा पर्ने देखिन्छ ।’
चालू आवमा २० वर्षमुनिका २८ महिलाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९६६ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतनको भने रेकर्ड राखिएको छैन । निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको संख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ ।
गत आवमा २० वर्षमुनिका ४९ र २० वर्षमाथिका ९८२ किशोरी तथा महिलाले गर्भपतन गराएका थिए । यस आव सकिन अझै एक महिना बाँकी रहेकाले यो संख्या अझै बढ्ने जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए । – विमलबहादुर विष्ट/रासस