०२ असार २०८३, मंगलबार

मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण

असार १६, २०७८
मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण
फाइल फोटो

तनहुँको जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । 

डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो । 

च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ«े, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम हिमाल निर्माण गरिएको हो ।

उनले भने, ‘यस कार्यका लागि गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ आर्थिक सहयोग रहेको छ भने स्थानीय तहको १० प्रतिशत लागत सहभागिता रहेको छ ।’

कृत्रिम हिमशृंखला र १०८ धारा निर्माण पछि ‘मिनी मुक्तिनाथ’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ–शुक्लागण्डकी च्यवनधामका अध्यक्ष  सुमेन्द्र लालचन बताए । विक्रम संवत् २०६५ सालमा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अधिग्रहण गरी २३ रोपनी जमिनमा बस्ती बसाउन खोजेपछि स्थानीय वासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको उनले जानकारी दिए ।

सार्वजनिक जमिनको संरक्षण गरी पर्यटकीयस्थलको पूर्वाधार निर्माण गर्न सबै क्षेत्रबाट सहयोग मिलेको धामका सचिव दुर्गादत्त सापकोटा बताए । सेती नदीको किनारमा तपोभूमि क्षेत्र भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्देश्यअनुरूप पूर्वाधार निर्माणको लागि खर्च जुटाउन ३ वर्षअघि महायज्ञ गरी १ करोड ५० लाख संकलन गरिएको थियो ।

संकलित रकमबाट मन्दिरमा पूर्वाधार निर्माणको कार्य अघि बढाइएको हो । उनले भने, ‘च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिरको छानो तामाको राखिएको छ ।’
 
शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी, गणेशको मन्दिरलगायतका संरचना छन् । मुक्तिनाथको जस्तै झल्को दिने गरी १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क लगायतका संरचना निर्माण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्