
नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले एक विज्ञप्ति जारी गरी बाढी पहिरोमा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने जानकारी दिएको हो ।
समन्वय समितिका संयोजक एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विक्रम संवत् २०७८ सालको शुरूदेखि बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले रकम सहयोग गर्न लागेको जानकारी दिए ।
मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ । असार २ गतेको बाढीपहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो ।
हेलम्बु–मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले २ लाख ५५ हजार सहयोग गरेका छन् । इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट संकलित राहत रकम हस्तान्तरण गरिएको छ ।
हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका ९ जनालाई जनही १० हजार रुपैयाँ, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही ७ हजार, ५ घरपरिवारलाई जनही ५ हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित ईस्ट प्वाइन्ट एकेडेमीलाई १५ हजार रुपैयाँ गरी हेलम्बु गाउँपालिकामा २ लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा ५५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ ।
उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेता तोकबहादुर तामाङ, क्षितिज तामाङ लगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र विश्वराम गुरागाईंको रोहवरमा समाजसेवी आइमान तामाङले संकलित रकम हस्तान्तरण गरेका हुन् ।