
झण्डै ८ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर ।
नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्, ‘सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौं । कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरू यसरी आज नेपाल फर्कन पाउँछौं भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’
फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिइन् उनी, सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरूप नै थियो । तर अचानक डोल्पाको जीवनले फरक मोड लियो ।
डोल्पाले जसलाई विश्वास गरेकी थिइन्, उसैले धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् तर एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन्, उनलाई अस्पताल पुर्याइयो ।
उपचारका क्रममा डोल्मा गर्भवती भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बुवाको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो ।
अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन सक्थिन्, न त दुबईमा बस्ने आधार थियो ।
अगस्त २०२० मा दुबई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिइन् । सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन डोल्माको । सोही क्रममा डोल्मा गैरआवासीय नेपाली संघको यूएईको सम्पर्कमा आइन् ।
उनको उद्धारका लागि पहल शुरू गरिए । गैरआवासीय नेपाली संघ यूएईमार्फत गैरआवासीय नेपाली संघको राहत तथा उद्धार कार्यक्रमको टीमले पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो ।
डोल्मा भन्छिन्, ‘त्यतिबेला निकै कठिन थियो । अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई ३ महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नुपरेको थियो, सरहरूले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म !’
डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रूपमा बस्न गाह्रो थियो । त्यसैले उनलाई गैरआवासीय नेपाली संघको राहत तथा उद्धार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल शुरू गरिएको थियो ।
नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरू पूरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काइ परिवारका सदस्य बहिनीको जिम्मा लगाइएको छ । आमा र बच्चालाई काठमाडौंमा संघको राहत तथा उद्दार कार्यक्रमका स्वयंसेवकले आवश्यक सहजीकरण तथा सहयोग पुर्याएका थिए ।
उद्धारका लागि गैरआवासीय नेपाली संघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद् एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसी लगायतको अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीसहित फिल्डमा कार्यरत टीम, काठमाडौंस्थित कार्यक्रमको टीम तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी लगायतले पहलकदमी लिएका थिए ।
उनलाई नेपाल ल्याउन आवश्यक कागजी प्रक्रियाका लागि फिल्डमा खटिएका गैरआवासीय नेपाली संघको राहत तथा उद्धार कार्यक्रमका यूएईका संयोजक प्रविण पोखरेलले भने, ‘बच्चाको बुवाको कुनै कागजपत्र नहुँदा जन्मदर्ता लगायतका अन्य आवश्यक प्रक्रिया निकै कठिन बनेका थिए, अर्कोतर्फ आमाको पनि भिसा सकिएको रहेछ, त्यसैले सम्पूर्ण कागजात बनाउनै लामो समय लाग्यो त्यसैले पनि उद्धारमा अलि समय लाग्यो तर पनि समस्यामा परेका बच्चा र आमाको जीवनरक्षा गर्न पाउँदा खुशी लागेको छ ।’
डोल्मा लामा त एक प्रतिनिधि पात्र मात्र हुन् । विशेष गरेर वैदेशिक रोजगारीमा गएका महिलाले यस्तै अन्य पीडा भोगेका कैयौं कथाहरू छन् । वैदेशिक रोजगारमा गएका श्रमिकले बेलैमा सचेत नहुने र सम्बन्धित निकायबाट समयमै आवश्यक समन्वय एवं सहयोगमा कमी भएमा आगामी दिनमा यस्ता समस्या जटिल रूपमा देखा पर्ने निश्चित छ ।
संघको राहत तथा उद्धार कार्यक्रमले कोेभिड–१९ का कारणले समस्यामा परेका मध्यपूर्वका विभिन्न देशहरू तथा मलेसियामा रहेका झण्डै १९ हजारभन्दा बढी नेपाली श्रमिकलाई सम्बन्धित गन्तव्य देशमा खाना तथा सेल्टरको व्यवस्था, जरिवाना तिरिदिने, हवाइ टिकट, पीसीआर परीक्षण, टेलिस्वास्थ्य तथा सामान्य स्वास्थ्य सहयोग तथा नेपाल फर्केपछि सकुशल आ–आफ्नो घरसम्म जानका लागि यातायात खर्च समेत व्यहोरिरहेको छ ।
संघले राहत तथा सहयोग कार्यमा सम्बन्धित देशका दूतावास, सरोकारवाला निकाय तथा नेपालमा सम्बन्धित निकायसँग समन्वय गरी मानवीय कार्यमा सहयोग पुर्याउँदै आएको छ ।