
अमेरिकाबाट निस्कने ब्लूमबर्ग नामक पत्रिकाले हालै चीनसँगको सीमामा भारतले ५० हजार अतिरिक्त सैनिकहरू पठाएको खबर दियो । यसले भारतीय सेनालाई आक्रामक रक्षा (अफेन्सिभ डिफेन्स) नामक रणनीतिका साथ चीनको सामना गर्नका लागि थप विकल्प प्रदान गरेको बताइएको छ । भारतीय पक्षले यस खबरका विषयमा टिप्पणी गरेको छैन । तर अमेरिकाले चीन र भारतको सम्बन्धलाई बिगार्न मिडिया रिपोर्टको दुरुपयोग गरेको कुरालाई नकार्न सकिन्न ।
आइतवार भारतका रक्षामन्त्री राजनाथ सिंहले लद्दाख पुगेर भारतीय सेनालाई हौसला दिए । समयसमयमा भारतका प्रधानमन्त्री र रक्षामन्त्री सीमामा पुगेर भारतीय सैनिकहरूलाई प्रोत्साहन गर्ने वा सीमाक्षेत्रमा निर्माण परियोजनाको आरम्भ गर्ने गर्छन् । यसले चीन र भारतको सीमा तनावलाई घटाउन मद्दत गर्दैन ।
भारतले चीनका विरुद्ध हालैका दिनमा लिएको कठोर नीतिले उसलाई पटक्कै फाइदा गरेको छैन । पहिलो कुरा त, चीनसँग सीमामा भिड्न खोजेर भारतले कुनै फाइदा लिन असम्भव छ किनकि दुवै पक्षको सैन्य क्षमताको कुनै तुलना नै हुँदैन । भारतले सैन्य शक्ति प्रदर्शन गरेर कुनै लक्ष्य हासिल गर्न सक्दैन । चीनले आत्मनियन्त्रण कायम राखेको छ र सीमा विवाद नचर्काउनका लागि चीनको जस्तो दृष्टिकोण भारतले पनि अपनाउनुपर्छ ।
गलवान उपत्यकामा भिडन्त भएदेखि भारतीय जनतामा चीनविरोधी भावना जागेको छ र नयाँ दिल्लीलाई थप सुदृढ नीति अपनाउन उत्प्रेरित गरेको छ । चीनप्रतिको यस्तो सोच भारतको राष्ट्रिय रणनीतिका लागि विषको कचौरा जस्तो हो । पारस्परिक विकासका लागि भारतले चीनसँग मिलेर काम गर्न सक्थ्यो । तर उसले चीन नीतिलाई रणनीतिक संघर्षण (एट्रिसन) मा परिणत गरेको छ अनि फाइदा लिन सक्ने स्थितिलाई पनि बेफाइदामा परिणत गरेको छ । भारतका लागि यो आत्मघाती कदम हो ।
चीन भारतको सबभन्दा ठूलो व्यापारिक साझेदार हो तर दुई देशको व्यापार चीन र भियतनामबीचको भन्दा आधा मात्र छ । भारतीय अर्थतन्त्रको खुलापन कति कमजोर छ भन्ने यसबाट नै देखिन्छ । यसका साथै भारतले चीनविरुद्ध आर्थिक रूपमा स्वेच्छाचारी कदम चाल्दैछ र चीनबाट सम्बन्ध विच्छेद (डिकपलिङ) गर्न खोज्दैछ । तर सन् २०२० मा अनि यस वर्षको ५ महिनामा चीन र भारतबीचको आर्थिक अन्तर नै हेर्नुस् न । प्रमुख शक्तिहरूमध्ये चीनको प्रदर्शन सर्वोत्कृष्ट रह्यो भने भारतको निकृष्ट । त्यसैले चीनविरुद्ध आक्रोश राखेर कदम चाल्नु भारतको हितमा छैन ।
दीर्घकालीन रूपमा हेर्दा चीन र भारतले सीमा विवाद सही तरिकाले समाधान गर्नुपर्छ र एकअर्काको विकासलाई प्रवर्द्धन गर्ने रणनीतिक साझेदार बन्नुपर्छ । चीन र भारत दुवैको विकासले विश्व शक्तिको वितरणमा संरचनागत प्रभाव पार्ने सुनिश्चित छ । यसलाई अमेरिका र उसका प्रमुख साझेदारहरूले रोक्न खोज्नेछन् । अमेरिकी प्रभुत्ववाद र पश्चिमी केन्द्रीयताको प्रकृति नै यस्तै हो ।
अमेरिका र पश्चिमले चीनकै कारण भारतसँग थप नजिकिने प्रयास गरिरहेका छन् । नत्र भारत गरीब भएमा उसलाई परित्याग गरिन्छ, ऊ शक्तिशाली भएमा चीनलाई जस्तै घेराबन्दी गरिन्छ । भारतले चीन र अमेरिकासँग सन्तुलित कूटनीति कायम गर्नु नै सर्वोत्तम विकल्प हो । दोस्रो उत्तम विकल्प भनेको एक पक्षसँग सुसम्बन्ध कायम गर्ने र अर्कोलाई नचिढ्याउने हो । तर एक पक्षसँग रणनीतिक सम्बन्ध बनाउने र अर्को पक्षसँग भीडन्त गर्न खोज्ने सबभन्दा खत्तम विकल्प हो । भारतलाई अमेरिकाले रणनीतिक रूपमा नियन्त्रण गरेको छ । वाशिङटनको हिन्द प्रशान्त रणनीतिकालागि लडाइँ गर्न र चीनसँग भिडन्तको माहोल बनाउन भारतसँग शक्ति छैन ।
चीन र भारतले एकअर्काको शक्तिको सदुपयोग गर्नुपर्छ र सँगै प्रगति गर्नुपर्छ । पश्चिमले चाहेको जस्तो सीमा विवाद तथा अनावश्यक प्रतिस्पर्धामा उनीहरू फस्नु हुँदैन । त्यस्तो स्थिति आयो भने भारतका लागि दुःस्वप्न साबित हुनेछ ।
ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीय