२८ जेठ २०८३, बिहीबार

‘अमेरिकाको आड पाएर चीनलाई तर्साउन खोज्नु भारतको भूल’

असार १६, २०७८
‘अमेरिकाको आड पाएर चीनलाई तर्साउन खोज्नु भारतको भूल’

अमेरिकाबाट निस्कने ब्लूमबर्ग नामक पत्रिकाले हालै चीनसँगको सीमामा भारतले ५० हजार अतिरिक्त सैनिकहरू पठाएको खबर दियो । यसले भारतीय सेनालाई आक्रामक रक्षा (अफेन्सिभ डिफेन्स) नामक रणनीतिका साथ चीनको सामना गर्नका लागि थप विकल्प प्रदान गरेको बताइएको छ । भारतीय पक्षले यस खबरका विषयमा टिप्पणी गरेको छैन । तर अमेरिकाले चीन र भारतको सम्बन्धलाई बिगार्न मिडिया रिपोर्टको दुरुपयोग गरेको कुरालाई नकार्न सकिन्न ।  

आइतवार भारतका रक्षामन्त्री राजनाथ सिंहले लद्दाख पुगेर भारतीय सेनालाई हौसला दिए । समयसमयमा भारतका प्रधानमन्त्री र रक्षामन्त्री सीमामा पुगेर भारतीय सैनिकहरूलाई प्रोत्साहन गर्ने वा सीमाक्षेत्रमा निर्माण परियोजनाको आरम्भ गर्ने गर्छन् । यसले चीन र भारतको सीमा तनावलाई घटाउन मद्दत गर्दैन । 

भारतले चीनका विरुद्ध हालैका दिनमा लिएको कठोर नीतिले उसलाई पटक्कै फाइदा गरेको छैन । पहिलो कुरा त, चीनसँग सीमामा भिड्न खोजेर भारतले कुनै फाइदा लिन असम्भव छ किनकि दुवै पक्षको सैन्य क्षमताको कुनै तुलना नै हुँदैन । भारतले सैन्य शक्ति प्रदर्शन गरेर कुनै लक्ष्य हासिल गर्न सक्दैन । चीनले आत्मनियन्त्रण कायम राखेको छ र सीमा विवाद नचर्काउनका लागि चीनको जस्तो दृष्टिकोण भारतले पनि अपनाउनुपर्छ । 

गलवान उपत्यकामा भिडन्त भएदेखि भारतीय जनतामा चीनविरोधी भावना जागेको छ र नयाँ दिल्लीलाई थप सुदृढ नीति अपनाउन उत्प्रेरित गरेको छ । चीनप्रतिको यस्तो सोच भारतको राष्ट्रिय रणनीतिका लागि विषको कचौरा जस्तो हो । पारस्परिक विकासका लागि भारतले चीनसँग मिलेर काम गर्न सक्थ्यो । तर उसले चीन नीतिलाई रणनीतिक संघर्षण (एट्रिसन) मा परिणत गरेको छ अनि फाइदा लिन सक्ने स्थितिलाई पनि बेफाइदामा परिणत गरेको छ । भारतका लागि यो आत्मघाती कदम हो । 

चीन भारतको सबभन्दा ठूलो व्यापारिक साझेदार हो तर दुई देशको व्यापार चीन र भियतनामबीचको भन्दा आधा मात्र छ । भारतीय अर्थतन्त्रको खुलापन कति कमजोर छ भन्ने यसबाट नै देखिन्छ । यसका साथै भारतले चीनविरुद्ध आर्थिक रूपमा स्वेच्छाचारी कदम चाल्दैछ र चीनबाट सम्बन्ध विच्छेद (डिकपलिङ) गर्न खोज्दैछ । तर सन् २०२० मा अनि यस वर्षको ५ महिनामा चीन र भारतबीचको आर्थिक अन्तर नै हेर्नुस् न । प्रमुख शक्तिहरूमध्ये चीनको प्रदर्शन सर्वोत्कृष्ट रह्यो भने भारतको निकृष्ट । त्यसैले चीनविरुद्ध आक्रोश राखेर कदम चाल्नु भारतको हितमा छैन । 

दीर्घकालीन रूपमा हेर्दा चीन र भारतले सीमा विवाद सही तरिकाले समाधान गर्नुपर्छ र एकअर्काको विकासलाई प्रवर्द्धन गर्ने रणनीतिक साझेदार बन्नुपर्छ । चीन र भारत दुवैको विकासले विश्व शक्तिको वितरणमा संरचनागत प्रभाव पार्ने सुनिश्चित छ । यसलाई अमेरिका र उसका प्रमुख साझेदारहरूले रोक्न खोज्नेछन् । अमेरिकी प्रभुत्ववाद र पश्चिमी केन्द्रीयताको प्रकृति नै यस्तै हो । 

अमेरिका र पश्चिमले चीनकै कारण भारतसँग थप नजिकिने प्रयास गरिरहेका छन् । नत्र भारत गरीब भएमा उसलाई परित्याग गरिन्छ, ऊ शक्तिशाली भएमा चीनलाई जस्तै घेराबन्दी गरिन्छ । भारतले चीन र अमेरिकासँग सन्तुलित कूटनीति कायम गर्नु नै सर्वोत्तम विकल्प हो । दोस्रो उत्तम विकल्प भनेको एक पक्षसँग सुसम्बन्ध कायम गर्ने र अर्कोलाई नचिढ्याउने हो । तर एक पक्षसँग रणनीतिक सम्बन्ध बनाउने र अर्को पक्षसँग भीडन्त गर्न खोज्ने सबभन्दा खत्तम विकल्प हो । भारतलाई अमेरिकाले रणनीतिक रूपमा नियन्त्रण गरेको छ । वाशिङटनको हिन्द प्रशान्त रणनीतिकालागि लडाइँ गर्न र चीनसँग भिडन्तको माहोल बनाउन भारतसँग शक्ति छैन । 

चीन र भारतले एकअर्काको शक्तिको सदुपयोग गर्नुपर्छ र सँगै प्रगति गर्नुपर्छ । पश्चिमले चाहेको जस्तो सीमा विवाद तथा अनावश्यक प्रतिस्पर्धामा उनीहरू फस्नु हुँदैन । त्यस्तो स्थिति आयो भने भारतका लागि दुःस्वप्न साबित हुनेछ ।

ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीय

salt training

कमेन्ट गर्नुहोस्