
बिहीवार अर्थात् जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्दैछ ।
यहाँ हामी पार्टीको इतिहास र विगत एक शताब्दीमा चीनमा भएका केही महत्त्वपूर्ण घटनाक्रमको सारसंक्षेप प्रस्तुत गर्दैछौं ।
जुलाई १९२१ : रुसको अक्टोबर क्रान्तिबाट प्रेरित भएर चिनियाँहरूले शांघाईमा गोप्य रूपमा चिनियाँ कम्युनिस्ट पार्टी गठन गरे ।
१९२४ : युद्धसरदारहरूका विरुद्ध लड्नका लागि राष्ट्रवादी क्वोमिन्ताङ र चिनियाँ कम्युनिस्ट पार्टीबीच साझेदारी बन्यो । चिङ राजवंशलाई अपदस्थ गर्न भूमिका खेलेका सन यात सेनले यो साझेदारी सम्भव गराएका थिए ।
सेप्टेम्बर १९२७ : क्वोमिन्ताङले कम्युनिस्टहरूको सफाया गर्न थालेपछि माओत्से तुङले च्याङ्सी प्रान्तमा रहेको चिङआनशानमा कम्युनिस्टहरूको पहिलो क्रान्तिकारी बेस बनाए । त्यसभन्दा एक महिनाअघि लाल सेना गठन गरिएको थियो । त्यसलाई दोस्रो विश्वयुद्धपछि जनमुक्ति सेना नाम दिइयो ।
१९३४ : क्वोमिन्ताङले कम्युनिस्टहरूलाई सिध्याउन आँटेपछि माओ र उनको लाल सेनाले लामो यात्रा (लङ मार्च) शुरू गरे । एक वर्षको अवधिमा उनीहरू च्याङ्सीबाट शान्सी प्रान्तसम्म नौ हजार किलोमिटर यात्रा गरेका थिए ।

जनवरी १९३५ : लङ मार्चका दौरान माओ क्विचो प्रान्तमा भएको पार्टी सम्मेलनमा विजयी भए र उनको क्रान्तिकारी रणनीतिको विरोध गर्नेहरूलाई दबाउन सफल भए ।
अक्टोबर १९३५ : माओ र उनका सहयोगीहरू शान्सीको यानानमा रहेका गुफाहरूमा वर्षौंसम्म बसे । उनीहरूले पार्टीको केन्द्रीय कार्यालयबाट ५० किलोमिटर टाढा रहेको स्थानमा आत्मनिर्भर खाद्य अभियान सञ्चालन गर्दै बञ्जर भूमिलाई कृषियोग्य जमीन बनाए र सेनाको भोक मेटाए ।
डिसेम्बर १९३६ : क्वोमिन्ताङका सर्वोच्च नेता च्याङ काई शेकलाई उनका सहयोगी चाङ स्वेल्याङले अपहरण गरेर कम्युनिस्टहरूसँग पुनः सम्झौता गर्न बाध्य बनाए र दुवैले मिलेर अतिक्रमणकारी जापानी सैनिकहरूविरुद्ध लडे । त्यस युद्धमा चीनका तीन करोड मानिसको ज्यान गयो ।
१९४५ : अमेरिकाले जापानमा दुईवटा अणुबम प्रहार गरेपछि जापानले आत्मसमर्पण गर्यो र दोस्रो विश्वयुद्ध अन्त्य भयो ।
१९४७ : क्वोमिन्ताङ र चिनियाँ कम्युनिस्ट पार्टीबीच पुनः गृहयुद्ध शुरू भयो ।
अक्टोबर १, १९४९ : क्वोमिन्ताङलाई परास्त गर्दै माओले जनगणतन्त्र चीन स्थापना गरे । कम्युनिस्टहरूले राज्य नियन्त्रित अर्थतन्त्र, भूमिसुधार, सामूहिक खेती तथा निजी संस्थाको राष्ट्रियकरण गरे । अपराध र भ्रष्टाचारलाई उनीहरूले निर्मूल बनाए ।
मार्च १९५० : माओले प्रतिक्रान्तिकारीहरूलाई दमन गर्ने राजनीतिक अभियान आरम्भ गरे । त्यसको तीन वर्षमा कम्तीमा २६ लाख मानिसलाई पक्राउ गरियो अनि आधा जतिलाई श्रम शिविर पठाइयो । सात लाखभन्दा बढी मानिसलाई मृत्युदण्ड दिइयो ।
१९५०-५३ : माओले चीनलाई कोरियाली युद्धमा होमे र उत्तर कोरियासँग मिलेर चीनले अमेरिका नेतृत्वको संयुक्त राष्ट्रसंघ सेना तथा दक्षिण कोरियाविरुद्ध लड्यो ।

१९५७ : लगभग पाँच लाख बुद्धिजीवीहरूलाई गाउँमा गएर श्रम गर्न लगाइयो ।
१९५८ : महान् अग्रगामी छलाङ अभियान आरम्भ गरियो । यसले बेलायतलाई पछि पार्ने र अमेरिकाको हाराहारीमा पुग्न खोज्ने लक्ष्य लिएको थियो । कृषकहरूले खेतमा काम गर्न छोडेर फलामको काम गर्न थाले । भोकमरीका कारण १९५९ देखि १९६१ सम्म लगभग तीन करोड मानिसको ज्यान गयो ।
मार्च १९५९ : तिब्बतका दलाई लामाले चिनियाँ फौजविरुद्ध विफल आन्दोलन गरेपछि उनी भारतमा निर्वासन जीवन बिताउन पलायन भए । त्यसअघि १९५१ मा चीनले तिब्बत हात पारेको थियो ।
१९६२ : चीन र भारतबीच सीमामा छोटो युद्ध भयो ।
अक्टोबर १६, १९६४ : चीनले सफलतापूर्वक पहिलो अणुबम परीक्षण गर्यो ।
१९६६-७६ : माओले राजनीतिक शत्रुहरूको सफायाका लागि सांस्कृतिक क्रान्ति आरम्भ गरे ।

१९६९ : चीन र सोभियत संघबीच सीमामा भिडन्त भयो ।
सेप्टेम्बर १३, १९७१ : माओका उत्तराधिकारी लिन प्याओ रहस्यमय तरिकाले मंगोलियामा विमान दुर्घटनामा मारिए ।
अक्टोबर २५, १९७१ : चीन संयुक्त राष्ट्रसंघको सदस्य बन्यो अनि ताइवानलाई त्यहाँबाट हटायो ।
१९७२ : अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सन बेइजिङको ऐतिहासिक भ्रमणमा गए र दुई देशबीच सौहार्द्र सम्बन्धको आरम्भ भयो ।
१९७६ : माओको मृत्यु भयो । उनकी पत्नी ज्याङ छिङ र ग्याङ अफ फोलाई पक्राउ गरियो ।
१९७८ : तङ स्याओपिङ शक्तिशाली बने र माओको नीति उल्ट्याउँदै सुधार तथा खुलापन ल्याए । त्यसले चार दशकमा चीनको कायापलट गरिदियो । तर आयको असमानता बढ्यो र भ्रष्टाचार पनि मौलायो ।
१९८९ : तङका उत्तराधिकारी हु याओबाङको मृत्युपछि विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनमा दमन गरियो । च्याङ चमिनलाई अघि सारेर तङले पर्दापछाडिबाट शासन चलाए ।
१९९२ : तङले दक्षिणी प्रान्तहरूको भ्रमण गरेर आर्थिक सुधारलाई पुनरुत्थान गरे ।
१९९७ : तङको मृत्यु भयो । त्यही वर्ष हङकङ चीनमा गाभियो ।
२००२ : च्याङले पार्टी महासचिवबाट निवृत्त हुनुअघि निजी व्यवसायीहरूलाई पार्टीको ढोका खोलिदिए । उनी २००४ सम्म सेनाको उच्च पदमा रहिरहे । उनका उत्तराधिकारी हु चिन्ताओले एक दशक च्याङकै छायाँमा बसी शासन चलाए ।
२००७ : सी चिनफिङलाई स्थायी कमिटीमा लगियो र राष्ट्रपतिको उत्तराधिकारी बनाइयो ।
२००८ : बेइजिङले ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्यो ।
२००९ : सिन्ज्याङको राजधानी उरुमचीमा चीनविरोधी दंगा भड्कियो । त्यसमा लगभग २०० जनाको मृत्यु भयो । त्यसपछि बेइजिङले आतंकवाद, पृथक्तावाद तथा धार्मिक अतिवादविरुद्ध अभियान चलाउन थाल्यो । सन् २०१७ देखि लगभग १० लाख उइगुर मुसलमानहरूलाई थुनामा राखेको भनी पश्चिमले चीनमाथि आरोप लगाउने गरेको छ । तर बेइजिङले उनीहरूलाई व्यावसायिक तालिम दिएको भन्दै आएको छ ।
२०१० : जापानलाई पछि पार्दै चीन विश्वको दोस्रो अर्थतन्त्र बन्यो ।
२०१२ : सीले पार्टीको सर्वोच्च पद तथा राष्ट्रपतिको जिम्मेवारी लिए । राष्ट्रपति बनेपछि सीले भ्रष्टाचारविरुद्ध निकै कठोर अभियान चलाए ।

२०१५ : सीले एक सन्तान नीतिलाई खुकुलो बनाए । अहिले एक जोडीले तीन सन्तान पाउने अनुमति छ ।
२०१७ : सीले दोस्रो कार्यकाल चलाउन थाल्छन् । संसद्ले अर्को वर्ष संविधान संशोधन गरेर राष्ट्रपतिको दुई कार्यकालको अवधि हटाइदिएको छ ।
डिसेम्बर २०१९ : चीनले कोभिड महामारीलाई पूर्ण नियन्त्रणमा लियो । लगभग ६ करोड जनसंख्या भएको हुबेई प्रान्त नै लकडाउनमा राखियो ।
फेब्रुअरी २०२१ : सीले ग्रामीण गरीबीमाथि पूर्ण विजय हासिल गरेको घोषणा गरे ।
जुलाई १, २०२१ : चिनियाँ कम्युनिस्ट पार्टीले शताब्दी समारोह आयोजना गर्दैछ ।