
युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवान सफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका १६० देशका चार लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
यो सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सको डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ ।
यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरूमा रेमिट्यान्सको क्षेत्रमा ठूलो सहयोग पुग्ने इसेवाले जनाएको छ ।
रियासँग अब इसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ ।
रिया मनि ट्रान्सफरका ग्लोबल सीईओ शौन फिल्डरले नेपालमा इसेवासँग साझेदारी गर्न पाउँदा उत्साही भएको बताए। ‘हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरू ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायती रेमिट्यान्स् सेवामार्फत् प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ।’
एफवान सफ्ट इन्टरनेसनल अध्यक्ष विश्वास ढकालले अन्तरदेशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनी रियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने यात्राको महत्त्वपूर्ण कोशेढुंगा भएको बताए। ‘हामी वैकल्पिक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्वभर रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ,’ उनले भने।