
महाधिवेशन आयोजक कमिटी भंग गरी नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णयपछि एमालेको दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।
पार्टी एकताका लागि यसअघिदेखि निरन्तर छलफल गरिरहेका दोस्रो तहका नेताहरूबीच ललितपुरको एक होटलमा छलफल चलिरहेको छ ।
छलफलमा संस्थापन पक्षका तर्फबाट उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् ।
माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र भीम आचार्य तथा नेता सुरेन्द्र पाण्डे सहभागी छन् । दुई पक्षका नेताहरूबीच टेलिफोनमा पनि संवाद भइरहेको स्रोतले बतायो ।
‘हामीले १८ गतेको बैठकमा सबैलाई सहभागी गराउने गरी छलफल गरिरहेका छौं,’ बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने ।
१८ गतेका लागि तय भएको बैठकमा सबै नेतालाई सहभागी गराउने गरी संस्थापन पक्षले छलफल शुरू गरेको हो ।
महाधिवेशन आयोजक कमिटी भंग भएसँगै माधव नेपाल पक्षमाथि गरिएको कारवाही पनि निष्प्रभावी भएको थियो । महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णयबारे माधव नेपाल पक्षले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
‘माधव कमरेड नागरिक अगुवासँगको छलफलमा रहेकाले हामीहरूले अहिलेसम्म छलफल गर्न पाएका छैनौं,’ सो समूहका एक नेताले भने । १८ गतेको बैठकमा नेपाल पक्षका नेताहरू बैठकमा सहभागी हुने उनले विश्वास व्यक्त गरे ।
बुधवार बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकले जेठ २ गतेकै केन्द्रीय समिति ब्युँताउँदै १८ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो ।
एमाले प्रवक्ता ज्ञवालीले एमाले पुरानै अवस्थामा फर्केकाले सबैलाई एकतामा फर्केर काम गर्न आग्रह गरे ।
‘आजदेखि परिस्थिति बिल्कुल नयाँ भएको छ । सबै साथीहरू एकतामा फर्केर काम गर्नुहुन्छ । एकता चाहेको हो भने यी कुरा पर्याप्त छन्,’ ज्ञवालीले भने ।