२६ जेठ २०८३, मंगलबार

शुरू भयो सशस्त्रमा बढुवा प्रक्रिया, प्रहरीमा सईमा प्रवेश गरेका प्राविधिकहरू डीआईजी बन्ने

असार १७, २०७८
शुरू भयो सशस्त्रमा बढुवा प्रक्रिया, प्रहरीमा सईमा प्रवेश गरेका प्राविधिकहरू डीआईजी बन्ने

सशस्त्र प्रहरी बलमा लामो समयदेखि अबरुद्ध उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा प्रक्रिया थालेको हो । सशस्त्रमा तीन डीआईजी पद रिक्त छ ।

मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो । यसअघि मानवस्रोत विभागमा पुष्पराम केसी थिए । ७ असारको मन्त्रिपरिषद बैठकले उनलाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो । उनीमाथि बढुवा प्रक्रिया अघि बढाउन नसकेको आरोप लाग्दै आएको छ ।

एआईजी पौडेलले डीआईजी बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेका छन् । एआईजी पौडेलद्वारा जारी सूचनामा तीन दिनभित्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनिएको छ । एआईजी पौडेल गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव हुन् ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।

बढुवाका लागि दाबेदार एसएसपीहरू चर्काे लबिङमा लागेका छन् । यद्यपि, अहिलेको बढुवामा पर्ने कुनै पनि एसएसपी भावी नेतृत्वमा भने पुग्न सक्दैनन् । अहिले जति पनि डीआईजी हुन्छन्, ती सबै जना नेपाल प्रहरीमा नायव निरीक्षक (सई) मा प्रवेश गरेका थिए । सशस्त्रमा आएपछि उनीहरु गैरप्राविधिक बनेका हुन् ।

बढुवाको पहिलो र दोस्रो नम्बरमा २० पुस २०७५ मा एसएसपी भएका कालीदास धौबजी र कुमार न्यौपाने पर्छन् । धौबजी र न्यौपाने नेपाल प्रहरीमा प्राविधिकका रूपमा सईबाट सुरु गरेका व्यक्ति हुन् । त्यसपछिका दाबेदार विदुर खड्का रहेका छन् ।

धौबजी २५ असोज २०५२, न्यौपाने १ फागुुन २०५२ र खड्का १ भदौ २०५० मा नेपाल प्रहरीको सईमा प्रवेश गरेका थिए ।
यसैगरी, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि डीआईजीको दौडमा छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरेका थिए ।

बढुवा समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनका आधारमा गर्छ । जसमा कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ अंक र बढुवा समितिले ५ अंक दिन पाउने व्यवस्था छ । बढुवा समितिले तयार पारेको सिफारिस गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि मन्त्रिपरिषद्ले पास गर्ने व्यवस्था छ ।

स्रोतका अनुसार, डीआईजी बढुवालगत्तै सशस्त्र मुख्यालयले नायव उपरीक्षक (डीएसपी)सम्मको बढुवा अघि बढाउने छ । सशस्त्रमा हाल डीएसपीदेखि नायव महानिरीक्षक (डीआईजी)सम्म १०६ पद रिक्त छ । राजधानी दैनिकमा रोशन श्रेष्ठले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्