
पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्रयाक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधवार साँझ ७ः०० बजे दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो ।
मे१त ६५७७ नम्बरको ट्रयाक्टर सडकबाट करीब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा फालेलुङ–३ घर भएका ट्रयाक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । दुर्घटना सदरमुकाम फिदिमबाट ६८ किलोमिटर पूर्वमा भएको हो ।