
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अधिवक्ता परशुराम कोइरालाले बहस गरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरेका छन् ।
जबराले ओलीले आफूले विश्वासको मत नपाउने अवस्था रहँदा अरुलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने आधार थिएन भनी प्रश्न गरेका हुन् ।
जबराले सोधे, ‘विश्वासको मत नपाएपछि ओलीले संविधान बमोजिम अरुलाई समर्थन गर्ने आधार थिएन र ?’ अघिल्लोपटक भएको विघटन बदर गर्नुको अर्थ सरकार बनाउनू भन्ने आदेश रहेको बताउँदै जबराले ओलीको समर्थनमा अरुको सरकार बनाउने विकल्प संसदमा रहेको स्मरण गराए ।
जबराले ओलीसँग रहेका एमालेका १२१ सांसदको समर्थन अरुलाई दिएमा सहजै सरकार बन्न सक्ने अवस्था रहेको स्मरण गराए ।
जबराको प्रश्नको जवाफ दिँदै कोइरालाले अरुलाई समर्थन नगर्नुको अवस्थाबारे आफूसँग ठ्याक्कै जवाफ नरहेको बताए । ‘ठ्याक्कै जवाफ त मसँग छैन । ओली, जसले ३ वर्ष सरकार खानुभयो । उहाँलाई थाहा छ, टीमको क्याप्टेन म हुँ, मेरा खेलाडीले आत्मघाती गोल गर्लान् भन्ने थाहा नभएर जसपाको समर्थनमा आफ्नै दाबी पेश गर्नुभएको हो,’ उनले भने, ‘मेरो १२१ र जसपाको ३२ गरेर १५३ मत मसँग छ भनेर दाबी गर्नुभएको हो ।’