
निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए१ ले राहत वितरण गरेको छ ।
काठमाडौं महानगरपालिका–८ जय वागेश्वरी क्षेत्रमा बसोबास गर्ने ३० विपन्न परिवारलाई चामल १/१ बोरा, दाल, नून, तेललगायत अत्यावश्यक सामग्री वितरण गरिएको क्लबका ‘जोन चेयरपर्सन’ तिलककुमार श्रेष्ठले जानकारी दिए ।
वडा कार्यालयको सिफारिसमा त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गलाई राहत दिइएको हो । राहत सामग्री नेपाल हेल्प संस्थाको सहयोगमा प्राप्त भएको उनले बताए ।
लायन्स क्लबको नयाँ आर्थिक वर्ष शुरू भएका अवसरमा प्रत्येक वर्ष जुलाई १ देखि ७ तारिखसम्म गरिने साप्ताहिक कार्यक्रम अन्तर्गत विपन्न वर्गलाई राहत वितरण गरिएको हो ।
यसै अवसरमा बिहीवार बिहान गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा वृक्षरोपण समेत गरिएको छ ।
कार्यक्रममा तेजपत्ता, कपूर, धूपी, अमलालगायत जातका १०० बिरुवा रोपिएको थियो । यसै अवसरमा शुक्रवार चोभारमा पनि वृक्षरोपणको कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस अवसरमा असार २३ गते बौद्धमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ ।