
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर २ दिन भित्र फिर्ता गर्न माधव नेपाल पक्षका पूर्व सांसदलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ताका लागि निर्देशन दिने निर्णय गरेको हो ।
महासचिव ईश्वर पोखरेलले सो निर्णयमा समर्थन जनाउन बैठकमा आग्रह गरेका थिए ।
देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी र सरकारविरुद्ध विरोधीहरूले स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन् ।
उनले राम्रो काम गर्दागर्दै पनि पार्टी फुटाउन खोजिएका आरोप लगाए ।
ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू भएको बताए ।
‘पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् । तर, स्याल हुइयाँ टिक्नेवाला छैन । फेरि पनि नेपालको राजनीति एमालेकै केन्द्रबिन्दु वरिपरि रहेर अघि बढ्छ,’ ओलीले भने ।
ओलीले आजको बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने बताए ।
‘राम्रो काम गर्दागर्दै पनि केही तत्व पार्टी फुटाउन लागेका छन् । आज हामी केही जरुरी र महत्त्वका विषयमा निर्णय गर्नेछौं,’ ओलीले भने ।