काठमाडौं, २४ जेठ— नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । बुधबार दिउँसो २ बजे देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको हो । शपथ ग्रहण राष्ट्रपति भवन शीतल निवासमा हुनेछ ।

शपथलगत्तै देउवाले पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक सम्मिलिल सानो मन्त्रिमण्डल निर्माण गर्ने तयारी समेत गरेका छन् ।
शीतल निवासमा देउवाले पद तथा गोपनियताको शपथ लिएलगत्तै मन्त्रिमण्डलका अरु सदस्यहरुको पनि शपथ ग्रहण हुनेछ ।
कांग्रेस निकट स्रोतका अनुसार देउवाले पहिलो चरणमा पार्टीबाट ज्ञानेन्द्र बहादुर कार्की, गोपालमान श्रेष्ठ र महेश आचार्यलाई देउवाले मन्त्री बनाउने तयारी गरेका छन् । यद्यपी आज बिहान नेताहरु बसेर नामको अन्तिम टुंगो लगाइन नेता मीन विश्वकर्माले जानकारी दिए ।
कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार कांग्रेसको भागमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्रालयसहित तीन मन्त्रालय परेको छ।
यस्तै माओवादी केन्द्रको भागमा गृह र ऊर्जासहित तीन मन्त्रालय परेको छ । दुबै पार्टीबाट उपप्रधानमन्त्री पनि रहनेछन् ।
माओवादी केन्द्रमा पहिलो चरणमा मन्त्री बन्नेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, टोपबहादुर महरालगायतको नाम चर्चामा रहेको भएपनि कसको नेतृत्वमा सरकारमा जाने भन्नेमा विवाद रहेको छ । यो विषयमा टुंगो लगाउन माओवादीको हेडक्वार्टर बैठक बोलाइएको छ ।
बुधबार बिहानको लागि पार्टी हेडक्वार्टर बैठक बोलाइएको र सो बैठकले कसको र को—को सरकारमा जाने भन्ने विषयमा अन्तिम टुंगो लाग्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । आजै देउवाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा भित्र्याउने छन् । उनलाई दिइने मन्त्रालयबारे भने टुंगो लाग्न बाँकी रहेको छ ।
पहिलो चरणमा कम्तीमा ७ मन्त्री बनाएसँगै देउवाले क्रमशः अरु मन्त्री थप्दै जानेछन् । यस्तै मन्त्रालयबारेको टुंगो पनि सत्तारुढ दलबीचको समझदारीको आधारमा लगाइने छ ।
यद्यपी प्रधानमन्त्री निर्वाचनमा देउवालाई सघाएको संघीय समाजवादी फोरम र राजपा नेपाल भने तत्काल सरकारमा नजाने मनस्थितिमा रहेका छन् ।
यता संसदको चौथो ठूलो शक्ति राप्रपा भने पहिलो चरणमै सरकारमा जाने सम्भावना न्युन रहेको छ । राप्रपाले सरकारमा जानको लागि उपप्रधानमन्त्रीको माग गरिरहेको छ । तर देउवाले उपप्रधानमन्त्रीबाहेक ४ मन्त्रालयमात्रै दिन सकिने जवाफ दिएपछि सो पार्टी अलमलमा परेको छ ।
उपप्रधानमन्त्री नपाएपनि सरकारमा जानुपर्ने पशुपति शमशेर राणा समूहले पार्टी अध्यक्ष कमल थापालाई दवाव दिँदै आएका छन् । सरकारमा नगए पार्टीनै संकटमा पर्न सक्ने चेतावनी समेत राणाले दिएकाले अन्तिम समयसम्म उपप्रधानमन्त्रीको लागि प्रयास गर्ने र त्यो सम्भव नभए कमल थापाबाहेकको नेताको नेतृत्वमा सरकारमा जने तयारीमा राप्रपा रहेको छ । उपप्रधानमन्त्री पाएको खण्डमा भने सरकारको नेतृत्व गर्दै थापा नै सरकारमा जानेछन् ।
राप्रपा नेता दिलनाथ गिरीले आफूहरुले सरकारमा सम्मानजनक सहभागिता चाहेको भन्दै त्यसमा प्रधानमन्त्रीसहित माओवादी केन्द्र सकारात्मक रहने दाबी गरे । उनले आजै दुई पक्षबीच छलफल गरेर निश्कर्षमा पुगिने समेत विश्वास व्यक्त गरे ।