३० जेठ २०८३, शनिबार

चालू मनसुनका बेला बाढी, पहिरा र डुबानमा परी ३४ जनाको मृत्यु

असार १८, २०७८
चालू मनसुनका बेला बाढी, पहिरा र डुबानमा परी ३४ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी चालू मनसुन अर्थात् गत जेठ ३० गतेयता ३४ जनाको मृत्यु भएको छ ।

अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा १९ पुरुष, ९ महिला र ६ बालबालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पामा ३, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढी, पहिरो र डुबानमा परी २४ पुरुष, ११ महिला, ६ बालक र ३ बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा ५/५, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३/३, जुम्ला र गोरखामा २/२, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १/१ जना रहेका छन् ।

बाढी र पहिरोमा १५ पुरुष, ६ महिला, २ बालक र १ बालिका बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा ३ र बाजुरामा १ जना बेपत्ता भएका हुन् छन् । बेपत्ताको खोजी जारी रहेको जनाइएको छ ।

बाढी तथा पहिरोमा परेका १ हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६, चितवनमा ४०२, सिन्धुपाल्चोकमा १२३, दोलखामा ३५, लमजुङ र सल्यानबाट ८/८, जाजरकोटमा ७, गोरखा र दाङमा ४/४ र कञ्चनपुरमा ३ जना रहेका छन् । 

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक अवरुद्ध नै छन् । वर्षाका कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरालगायतका जिल्लामा बिहीवार र शुक्रवार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाई सञ्चालन गराउने कार्य जारी छ ।

बाढीका कारण ३९७ घर डुबानमा परेका छन् । ४९१ घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ विद्यालय र १० सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार ४३ घरका ४ हजार ९५५ जना मानिस विस्थापित भएका छन् । ८०२ पशु चौपाय मरेका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्