
नेकपा एमालेका उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।
एमाले संस्थापन पक्षका प्रभावशाली नेता पौडेल लगायत नेताले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए ।
राष्ट्रिय सभाको बैठकपछि संघीय संसद् भवन नयाँबानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको बताएका हुन् ।
‘माधव कमरेडकोमा गएका थियौँ, म सुवासजी र शंकर जी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौं भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाऊँ । हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक आपसमा बस्नुहोस् नेताहरू पनि । हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौं । समाधान खोजेर अगाडि जाऊँ। पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस्, हामी त्यो चाहन्छौं भनेर हामीले प्रस्ताव राख्यौं,’ पौडेलले भने, ‘उहाँले खासगरी प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठीकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौं ।’
पार्टी विवाद उत्कर्षमा पुगेका बेला पौडेलसहित संस्थापन पक्षका तीन नेताले नेता नेपालसँग आइतवार बिहान कुरा गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्न एमाले केन्द्रीय कमिटी बैठकले दिएको अल्टिमेटम सकिनुअगावै सहमतिको प्रयासमा दोस्रो तहका नेताहरू सक्रिय छन् ।
देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ताका लागि सोमवार साँझ ५ बजेसम्मको समय दिइएको छ ।