
रुसले आफ्नो नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ । उक्त नीतिले भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने र अमेरिकी डलरमा आधारित विनिमयलाई त्याग्ने योजना बनाएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त रणनीति शनिवार सार्वजनिक गरेका हुन् ।
नयाँ सुरक्षा नीतिले भारतसँग रणनीतिक सहकार्य थप विस्तार गर्ने अनि चीनसँग विस्तृत साझेदारी बनाउने लक्ष्य लिएको छ । रुसको समाचार संस्था स्पुतनिकका अनुसार, यस नीतिले एसिया प्रशान्त क्षेत्रमा क्षेत्रीय स्थिरता तथा सुरक्षा सुनिश्चित गर्ने प्रक्रिया सिर्जना गर्न खोजेको छ ।
यस नीतिले अन्तर्राष्ट्रिय विनिमयमा अमेरिकी डलरको निर्भरता घटाउन पनि सिफारिश गरेको छ । त्यसो गर्दा रुसको आर्थिक सुरक्षामा वृद्धि हुने बताइएको छ ।
‘रुसले गर्ने अन्तर्राष्ट्रिय कारोबारमा डलरको उपयोग घटाउने कार्य देशको आर्थिक सुरक्षाको एक उपाय हो,’ नीतिमा उल्लेख गरिएको छ । रुसले हालैका वर्षमा विदेशी प्रतिबन्ध तथा दबाब झेल्न सक्ने क्षमता प्रदर्शन गरेको पनि उल्लेख गरिएको छ ।
अमेरिकालाई व्यंग्य गर्दै रुसको राष्ट्रिय सुरक्षा रणनीतिले कुनै कुनै देशको अकण्टक नेतृत्व गुम्दै गइरहेकाले भूराजनीतिक अस्थिरता तथा द्वन्द्व भइरहेको छ ।’