
चीनको नयाँ अन्तरिक्ष कक्षबाहिर दुई अन्तरिक्षयात्रीहरूले पहिलो स्पेसवाक गरेका छन् ।
उनीहरूले ५० फीट लामो रोबोटिक उपकरण उपयोग गरेर कक्षबाहिर क्यामरा र अन्य उपकरण स्थापित गरेका हुन् । लियू बोमिङ र ताङ होङबोलाई चीनको सरकारी टीभी च्यानलले एयरलकबाट बाहिर आएको देखायो ।
चालक दलका तेस्रा सदस्य कमान्डर निये हाइशङ अन्तरिक्षयानभित्रै बसे ।
अन्तरिक्षयानबाट बाहिर निस्केर अन्तरिक्षमा गरिने शारीरिक गतिविधिलाई स्पेसवाक भनिन्छ । लियू र ताङले स्पेस स्टेसन बाहिर लगभग सात घन्टा बिताएको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।
यी अन्तरिक्षयात्रीहरू तीन महिनाको मिसनका लागि चीनको तेस्रो कक्षीय केन्द्रमा जुन १७ मा पुगेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्ष पूरा गरेको अवसरमा अन्तरिक्षयात्रीहरूले स्पेसवाक गरेका हुन् ।
केन्द्रको पहिलो मोड्युल थ्यानह अप्रिल २९ मा प्रक्षेपण गरिएको थियो । त्यसपछि एक स्वचालित अन्तरिक्षयान भोजन र इन्धन लिएर त्यहाँ पुग्यो । लियू, निये र ताङ शनचो क्याप्सुलमा चढेर १७ जुनमा त्यहाँ पुगेका थिए ।