
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन् ।
निर्वाचत आयोगको आयोजना र क्रियाशील महिला पत्रकार (डब्लूडब्लूजे) को संयोजनमा आयोजित एक दिने ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ भर्चुअल उद्घाटन गर्दै उनले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएकामा जोड दिए ।
अध्यक्ष थपलियाले भने, ‘निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन, यसमा सबैको सहकार्य जरुरी छ ।’
निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा सञ्चारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैंले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको बताउँदै उनले आधाभन्दा बढी जनसंख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताए ।
आयोगको तथ्यांक अनुसार देशभर करीब १ करोड ६५ लाख मतदाता छन् । त्यो अझै बढ्ने क्रममा छ । नेपालमा देशभर ६० प्रतिशत मत खस्ने गरेको छ । त्यसमध्ये ५ प्रतिशतको हाराहारीमा बदर हुने गरेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा भने १३ प्रतिशत बदर भएको देखिएको छ ।
सो अवसरमा आयोगका सदस्य डा. जानकीकुमारी तुलाधरले मतदातालाई सुुसूचित गराउनका लागि महिला पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको र त्यसका लागि सम्पादकीय र व्यवस्थापकीय स्थानमा तिनको सहभागिता हुनुपर्ने जरुरी रहेको बताए ।
डब्लूडब्लूजेका अध्यक्ष निर्मला आचार्यले निर्वाचनमा मत बदर नै नहुने गरी नागरिकलाई साक्षरता जनाउने र निर्वाचनका समाचारमा पत्रकार महिलाको पनि उल्लेख्य सहभागिता गराउने उद्देश्यले अभिमुखीकरण तालिमको आयोजना गरेको जानकारी गराइन् ।
तालिममा निर्वाचन आयोगका तर्फबाट ३ कार्यपत्र र डब्लूडब्लूजेका तर्फबाट १ कार्यपत्र प्रस्तुत हुनेछ । प्रत्येक प्रदेशबाट ३/३ गरी २१ पत्रकार महिला तथा आयोग र डब्लूडब्यूजेका गरी ४० जना तालिममा सहभागी छन् ।