०९ असार २०८३, मंगलबार

एकैदिन चार बालबालिकासहित सात जनाको डुबेर मृत्यु

एकैदिन चार बालबालिकासहित सात जनाको डुबेर मृत्यु

देशका विभिन्न ठाउँमा डुबेर एकैदिन सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार बालबालिका पनि छन् । 

बारा, कलैया उपमहानगरपालिका-१०, मटिअर्वास्थित इँटा भट्टाको पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ । सोही ठाउँ बस्ने ७ वर्षीया मनिषाकुमारी रामको आइतबार दिउँसो मृत्यु भएको हो । 

उक्त खाल्डोमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनसरी, कोशी गाउँपालिका-५, कुम्याईका ९ वर्षीय ईरफान मियाँको डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । ईरफान र सोही ठाउँ बस्ने ७ वर्षीय मुर्सलिन मियाँ वडा कार्यालय नजिक बाटो छेउको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा डुबेका थिए । ईरफानको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । मुर्सलिन सोही अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

मकवानपुर, राक्सिराङ्ग गाउँपालिका-९, मरुवा डाँडाका ५७ वर्षीय वीरबहादुर प्रजाको सोही ठाउँस्थित गोराङ्दी खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डनटारबाट आफ्नो घरमा फर्कने क्रममा गोराङ्दी खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही खोलाको बगरमा शव फेला परेका हो । 

सर्लाही, कौडेना नगरपालिका-५, छपकैया टोलकी ५ वर्षीया गुड्डीकुमारी रायको डुबेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छेउमा रहेको राम मन्दिरको पोखरीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

यसैगरी सर्लाही, ईश्वरपुर नगरपालिका-१३ बाँके खोलामा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय रामचन्द्र महतोको आइतबार राति मृत्यु भएको छ । रामचन्द्र र उनकी श्रीमती ४० वर्षीया रहन्तीदेवी महतो कान्ति बजारबाट चटपटे बेचेर सँगै घर फर्किने क्रममा उक्त खोला तर्ने क्रममा रामचन्द्रलाई खोलाले बगाएको थियो । रहन्तीदेवी भने बीचमा अड्किएकाले इलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी गौरीशंकरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनको सकुशल उद्धार गरेको थियो । साथै रामचन्द्रको खोजी गर्ने क्रममा घटनास्थलबाट  करिब ५०० मिटर टाढा उनको शव फेला पारेको हो । 

रुपन्देही, मायाँदेवी गाउँपालिका-२, अमुवागाउँका १२ वर्षीय कृष्ण कहारको डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरदेखि करिब ७०० मिटर टाढा कोहोलिहवा नालामा डुबेर उनको मृत्यु भएको हो । 

दाङ, घोराही उपमहानगरपालिका-१९ घोरधैरा बस्ने ५० वर्षीया हुमा खड्काको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित अरुण खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ३०० मिटर टाढा उनको शव फेला परेको हो । 

salt training

कमेन्ट गर्नुहोस्