
निर्वाचन आयोगले आगामी कात्तिक र मंसिर महिनामा हुने गरी तोकिएको प्रतिनिधिसभा मध्यावधि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने र असोज २० र २१ गते पहिलो चरणको निर्वाचनका लागि उम्मेदवार दर्ता गरिने छ ।
नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचनको मिति तोकिएको थियो ।
निर्वाचन आयोगले असार ३१ गते दल दर्ताको सूचना प्रकाशित गर्ने, भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका निर्धारण गरेको छ ।
कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता असोज २०–२१ गतेसम्म गरिने छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गरिने छ ।
दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता असोज ३१ गतेदेखि कात्तिक १ गतेसम्म हुनेछ । कात्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने छ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक ५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने र मंसिर ३ गते मतदान हुने कार्यतालिका छ ।
आयोगले कार्यतालिका प्रकाशित गरेपनि प्रतिनिधिसभा विघटन विरुद्धको रिट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।