
राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने बताउँदै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
सोमवारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने बताए ।
उनले मुलुक प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबाट गुज्रिरहेको बताए । आफूहरूले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भए पनि प्रतिगमन पूर्ण रूपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोस्रो पटक पनि विघटन भएको टिप्पणी गरे ।
‘म चेतावनी दिन चाहन्छु । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरिछाड्ने छौं,’ उनले भने ।
उनले राष्ट्रिय सभाको अधिवेशनलाई तत्काल अन्त्य गर्नेतर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रूपमा सदुपयोग गर्न सभाध्यक्षको ध्यानाकर्षण गराए ।
‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा पनि हामी राष्ट्रिय सभामा छौं । तत्काल अन्त्य गर्ने दिशातर्फ नसोचिओस्, यसतर्फ ध्यान जाओस् । जनताको आवाज मुखरित गर्ने थलो र संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्ष गर्ने औजार र थलोको रूपमा सदुपयोग गर्नुपर्छ । सम्माननीय अध्यक्षज्यू कुन पार्टीको पहिला हुनुहुन्थ्यो या कुन गुटको हुनुहुन्थ्यो भन्ने सोच्ने बेला छैन । यहाँ राष्ट्रिय सभाको अभिभावकको रूपमा हुनुहुन्छ, त्यसैले केपी ओलीलाई व्यक्तिगत रूपमा सहयोग गर्ने भूमिकाबाट मात्रै आफूलाई सोच्नुहुने छैन । राष्ट्रिय सभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनुहुनेछ भन्ने आशा र अपेक्षा मैले गरेको छु,’ उनले भने ।