
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईले राष्ट्रलाई नै असाधारण क्षति पुर्याएको बताएका छन् ।
सोमवार आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा ढिलाई हुँदा ठूलो घाटा परेको बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कम्युटरमा क्लीक गरेपछि दोलखाको लामाबगरमा रहेको आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको छ ।
४५६ मेगावाट क्षमताको सो आयोजनाबाट पहिलो चरणमा ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
उद्घाटनपछि उनले भने,‘४ वर्ष अगाडि यसलाई फाइनल गर्न पाएको भए अनेक क्षेत्रहरूमा यसको उत्पादन र प्रयोगबाट हुने लाभ त हामीले हिसाब नै गरेका छैनौं । यसले ठूलो घाटा परेको छ, हिसाब गरि साध्य छैन ।’
प्रधानमन्त्री ओलीले विभिन्न कारणले आयोजना निर्माण कार्य विलम्ब भएकाले निर्माण अवधिको ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएकोमा थप १८ अर्ब बढेर ३२ अर्ब पुगेको बताए ।
उनले भने,‘यो ठूलो नोक्सानी हो । यस्ता कुराबाट हामीले सिक्नुपर्छ, अब आउने आयोजनामा ठीक समयमा सम्पन्न गर्न सकेनौं भने घाटैघाटा हुन्छ ।’
उनले नेपालीहरूकै लागतमा आयोजना बनेको भन्दै यो धेरै खुशीको कुरा भएको बताए ।
उनले भने, ‘आयोजना निर्माणपछि राष्ट्रिय आत्मविश्वास बढेको छ ।’
उनले यसबाट हाम्रा प्राविधिक, डिजाइनर, इन्जिनियर हरेक क्षेत्रले आफ्नो ज्ञान र अनुभवलाई विकास गर्ने अवसर पाएको बताए ।
उनले केही समयमा आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन हुने बताए ।
उनले भने,‘६ वटै टर्बाइन केही समयमा नै सञ्चालन ल्याउँछौँ ।’