
एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सत्तारुढ दल नेकपा एमालेले देशलाई फेरि ‘बयलगाढा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएको छ ।
सोमबार मोर्चाका संयोजक सुर्यमान दोङ ‘लालध्वज’ ले एक विज्ञप्ति जारी गर्दै एमालेले देशलाई संविधानको विरुद्धमा उभ्याउँदै ‘बयलगाढा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका हुन् । एमाले केन्द्रीय कमिटिको १३ औँ बैठकमा संघीयताको बारेमा समीक्षा गर्ने र धर्मनिरपेक्षताबारे बहस गर्नुपर्ने विषयमा उठेको सवाल तथा छलफलको विषयमा ध्यानाकर्षण भएको भन्दै मोर्चाले महेश बस्नेतको नाममा दर्ता भएको संघीयताको समीक्षा गर्ने एवं धर्मनिरपेक्षताबारे बहस गर्ने प्रस्ताव र एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय चालिरहेको असंवैधानिक कदमले सिंगो एमाले यो परिवर्तनको विपक्षमा छ भन्ने प्रष्ट भएको जनाएको छ ।
‘सर्वविदितै छ, जतिबेला देशमा गणतन्त्रका लागि आन्दोलनको आँधीबेहरी चल्दै थियो, त्यतिबेला अहिलेका प्रधानमन्त्री ओली ‘बयलगाढा सिद्धान्त’ पतिपादन गर्दै थिए । ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्ने ओलीको सिद्धान्तविपरीत मुलुकमा आएको गणतन्त्रप्रति ओलीको रुचि नभएको उनको अभिव्यक्तिहरुले पुष्टि गरिसकेको छ । ओलीको पछिल्लो प्रतिगामी कदम र एमाले बैठकमा उठेको परिवर्तनविरोधी आवाजले एमालेले फेरि देशलाई ‘बयलगाढे सिद्धान्त’ मा फर्काउन लागेको आशंका उत्पन्न भएको छ ।’ मोर्चाले विज्ञप्तिमा भनिएको छ ।